काठमाडौं । एनएमबि बैंकले आर्थिक वर्षको अन्त्यसम्म ३ अर्ब २८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा ४६.२२ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष बैंकले २ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकले यस अवधिमा ८ अर्ब २ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको ७ अर्ब २१ करोड रुपैयाँभन्दा बढी हो। त्यसैगरी, कमिशन तथा शुल्क (फि) शीर्षकमा बैंकको आम्दानी २ अर्ब १८ करोड रुपैयाँ पुगेको छ, जबकि गत वर्ष यस शीर्षकमा १ अर्ब ७९ करोड रुपैयाँ आम्दानी भएको थियो।
समीक्षा अवधिमा बैंकले इम्पेरमेन्ट चार्जमा ९५ करोड रुपैयाँ छुट्याएको छ, जुन अघिल्लो वर्षको २ अर्ब ३ करोडभन्दा निकै कम हो। यसले नाफा बढाउन सहयोग पुर्याएको देखिन्छ।
बैंकको मौज्दात चुक्ता पूँजी १८ अर्ब ३३ करोड ६७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १४ अर्ब ३१ करोड रुपैयाँ सञ्चित छ। बैंकको प्रति सेयर नेटवर्थ १८०.६८ रुपैयाँ रहेको छ।
असार मसान्तसम्म, बैंकको निक्षेप संकलन २ खर्ब ८० अर्ब ९२ करोड रुपैयाँ पुगेको छ, भने कर्जा प्रवाह २ खर्ब २९ अर्ब ११ करोड रुपैयाँमा पुगेको छ। वितरणयोग्य मुनाफा १ अर्ब ९० करोड रुपैयाँ र प्रतिशेयर वितरणयोग्य नाफा १०.४१ रुपैयाँ देखिएको छ।
हाल बैंकको पूँजीकोष अनुपात १२.०३ प्रतिशत, निष्क्रिय कर्जा (एनपीए) ३.७२ प्रतिशत, बेसरेट ६.२२ प्रतिशत र ब्याजदर स्प्रेड ३.८२ प्रतिशत रहेको छ।


