कञ्चनपुरका विपिन जोशीको शवयात्रा आज बिहान भीमदत्त नगरपालिका–३ मालिकार्जुन टोलस्थित घरबाट सुरु भएको छ। गाजामा हमासद्वारा बन्धक बनाई मारिएका विपिनको शव महाकाली नदीको भुजेला घाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए। उनले राष्ट्रिय झण्डा ओढाएर शवमा सम्मान प्रकट गरिने बताए।
शवयात्रामा सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गर्ने कार्यक्रम तय गरिएको छ। सोमवार साँझ लक्ष्मीपूजाको चहलपहलबीच विपिनको शव घरमा आइपुग्दा परिवार शोकमा डुबेको थियो। दुई वर्ष १३ दिनपछि विपिनको शव नेपाल ल्याइएको छ।
सोमवार अपराह्न फ्लाई दुबईको विमानमार्फत विपिनको शव त्रिभुवन विमानस्थल ल्याइएको थियो। विमानस्थलमा प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेकी थिइन्। त्यहाँ मन्त्री, नेपालस्थित इजरायली राजदूतलगायतले पनि श्रद्धासुमन चढाएका थिए।
सोमवार साँझ नेपाली सेनाको स्काइ ट्रकमा विपिनको शव काठमाडौंबाट धनगढी विमानस्थल ल्याइयो। त्यसपछि शव महाप्रस्थान यानमा राखेर कञ्चनपुरस्थित उनको घर पुर्याइएको हो। शव घरमा पुर्याउन इजरायली राजदूतावासका अधिकारी समेत पुगेका थिए।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा विपिन जोशी बन्धक परेका थिए। गत असोज २७ गते इजरायली अधिकारीले उनको मृत्यु पुष्टि गरेका थिए। युद्धविराम सम्झौतापछि हमासले विपिनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो।
शव हस्तान्तरणपछि इजरायलमा डीएनए परीक्षण गरेर विपिनको शव भएको पुष्टि गरियो। विपिनको मृत्युको कारण भने अझै खुल्न सकेको छैन।
विपिन जोशी सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत थिए। लर्न एण्ड अर्न कार्यक्रमअन्तर्गत २०८० भदौ २६ मा इजरायल गएका उनी एलोमिनस्थित कृषि फार्ममा काम गर्थे। हमास लडाकूहरूद्वारा बंकरमा लुकेका नेपाली विद्यार्थीमाथि ग्रेनेड र गोली प्रहार भएको थियो।
सो घटनामा १७ मध्ये १० नेपाली विद्यार्थीको मृत्यु भयो, ६ जना घाइते भए भने विपिन सम्पर्कविहीन भएका थिए। गाजास्थित अस्पतालमा देखिएको भिडियोबाट विपिन अपहरणमा परेको पुष्टि भयो। एक वर्षसम्म विपिनको अवस्थाबारे परिवारले कुनै जानकारी पाएनन्। इजरायली सेनाले सार्वजनिक गरेको अर्को भिडियोले विपिन जीवित रहेको आशा जगाएको थियो।
विपिनको सकुशल रिहाइका लागि उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले इजरायल र अमेरिका पुगेर अन्तर्राष्ट्रिय दबाब सिर्जना गरेका थिए। विपिनको शव नेपाल आइपुगेपछि परिवार र आफन्तहरू शोकमा छन्। बंकरमा हमासले फालेको ग्रेनेड विपिनले बाहिर फालेको, अर्को विस्फोट हुँदा उनका साथी घाइते भएको, विपिनले ग्रेनेड फालेर ज्यान बचाएको उनका साथी धनबहादुर चौधरीले बताए।
इजरायलमा सुनौलो भविष्यको सपना बोकेर गएका ११ नेपाली विद्यार्थी हमासको आक्रमणमा मारिए, तीमध्ये ८ जना सुदूरपश्चिमकै हुन्। विपिनको शव घर आइपुगेपछि सुदूरपश्चिम प्रदेशमा शोकको वातावरण छ। कृषि संकायले पहिलो पटक लर्न एण्ड अर्न कार्यक्रमअन्तर्गत विद्यार्थी पठाएको थियो। आर्थिक रूपमा विपन्न तथा मध्यम परिवारका विद्यार्थी सुनौलो भविष्यको आशामा इजरायल पुगेका थिए, तर ४ सातामै हमासको आतङ्ककारी आक्रमणको सिकार बने।


