दाङको घोराहीमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीको टोलीले आइतबार राति घोराही उपमहानगरपालिका–१५ काठेकोहलस्थित होटल टिथ्रीमा छापा मार्दा वडा नं १८ का अध्यक्ष भरतमणी अर्यालसहित नौ जनालाई गिरफ्तार गरेको हो।
जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ परेकाहरुको साथबाट तीन लाख ४५ हजार नौ सय १५ रुपैयाँ नगद बरामद गरिएको छ।
पक्राउ पर्नेमा कृष्णबहादुर घर्ती, नारायणप्रसाद अधिकारी, माधव भण्डारी, बिक्रम केसी, लंकबहादुर बुढा, सागर बुढा, प्रबिन रावत र तेजप्रसाद आचार्य रहेका छन्।
यस्तै, सोही राति घोराही–१५ काठेकोहलमा मिरज श्रेष्ठको घरमा जुवा खेलिरहेका चार जनालाई समेत प्रहरीले पक्राउ गरेको छ। उनीहरुको साथबाट ६० हजार छ सय ४० रुपैयाँ बरामद भएको छ। पक्राउ परेकामा अनुप कशौधन, ज्ञानेन्द्र रिजाल, एकराज खत्री र सोहेलमान मनसुरी छन्।


