अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागकी पूर्वमहानिर्देशक डा संगीता कौशल मिश्रा विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। नयाँ सरकार गठनको बेला स्वास्थ्य मन्त्री बन्ने चर्चा चलेकी डा मिश्राविरुद्ध अनुसन्धान भइरहेकाले अन्तिम समयमा मन्त्री नियुक्ति रोकिएको थियो।
स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको आरोपमा अख्तियारले डा मिश्रासहित अन्यलाई मुद्दा दर्ता गरेको हो। विशेषगरी मेमोग्राम मेसिन खरिद प्रक्रियामा नियमविपरीत काम भएको ठहर गर्दै उनीमाथि आरोप लगाइएको छ।
आयोगका अनुसार सो विवादमा डा मिश्रासहित कुल १४ जनालाई प्रतिवादी बनाउँदै अदालतमा मुद्दा पेश गरिएको छ।
अख्तियारले डा मिश्रा तथा अन्य प्रतिवादीसँग १४ करोड ६ लाख ८५ हजार ५ सय बराबरको विगो माग गर्दै मुद्दा दर्ता गरेको जनाएको छ।


