नेपालको महत्वपूर्ण पर्व तिहारको तेस्रो दिन गाई तिहार तथा लक्ष्मी पूजाका रूपमा मनाइन्छ। कार्तिक महिनाको अमावस्या तिथिमा पर्ने यो दिनलाई धन, समृद्धि र पवित्रताको प्रतीक मानिन्छ। तिहारलाई प्रकाश, प्रेम र कृतज्ञताको पर्वका रूपमा मनाउने चलन छ।
नेपाली समाजमा गाईलाई देवी लक्ष्मीको अवतार मानिन्छ। गाईबाट प्राप्त हुने दूध, दही, घ्यूजस्ता वस्तुहरू धार्मिक दृष्टिले अत्यन्तै महत्वपूर्ण छन्। यसकारण गाईलाई ‘माता’का रूपमा सम्मान गरी पूजा गर्ने परम्परा पुरातन कालदेखि कायम छ।
गाई तिहारको बिहान प्रत्येक घरमा गाईलाई स्नान गराई, टीका तथा फूलमाला लगाइन्छ। गाईलाई मीठा परिकार अर्पण गरिन्छ, जसले परिवारजनको कृतज्ञता र श्रद्धा झल्काउँछ।
यो पर्व केवल धार्मिक परम्परा मात्र नभइ, कृषिप्रधान समाजमा पशुप्रतिको सम्मान र आभार प्रकट गर्ने अवसर हो। गाई तिहार र लक्ष्मी पूजासँग सम्बन्धित धार्मिक एवं पौराणिक कथाहरूले यस पर्वको महत्त्व अझ बढाउँछन्।
हिन्दू धर्मग्रन्थअनुसार, देवता र दानवबीचको समुद्र मन्थनबाट १४ अमूल्य रत्न निस्किएका थिए, जसमा देवी लक्ष्मी धन र समृद्धिको प्रतीकको रूपमा प्रकट भएकी थिएन्। विष्णुका छेउमा विराजमान भएकी लक्ष्मीको आगमनको स्मरणमा कार्तिक अमावस्याको दिन पूजाआजा गरिन्छ।
पुराणमा गाईलाई लक्ष्मीको अवतार र कामधेनुको रूपमा उल्लेख गरिएको छ, जसले भक्तजनको इच्छा पूरा गर्छ भन्ने विश्वास छ। गाईको दूध, दही, घ्यू र मूत्र धार्मिक कार्यमा पवित्र मानिन्छ। एक जनश्रुतिअनुसार, गरीब ब्राह्मणले घर सफा गरी उज्यालो बनाउँदा देवी लक्ष्मी प्रसन्न भइन् र घरमा धन तथा समृद्धि ल्याउने वाचा गरिन्। यसरी तिहारमा घर सफा राख्ने, दियो बाल्ने र लक्ष्मीलाई निम्तो गर्ने परम्परा प्रारम्भ भएको मानिन्छ।
गाई तिहारकै दिन साँझ लक्ष्मी पूजा गरिन्छ। यस दिन घर–घरमा विशेष सफाइ, झिलिमिली बत्ती, फूलमाला र दियोले सजावट गरिन्छ। पवित्र र उज्यालो घरमा लक्ष्मी प्रवेश गरी परिवारमा धन, सुख र समृद्धि ल्याउने विश्वास नेपाली समाजमा गहिरो छ।
पूजा सम्पन्न भएपछि परिवारजनले लक्ष्मीको मूर्तिलाई पुजापाठ गरी मिठा परिकार अर्पण गर्छन्। यस रात बालबालिकाले देउसी–भैलो खेल्दै गाउँघर रमाइलो बनाउँछन्। यसले समुदायमा प्रेम, एकता र उल्लासको वातावरण सिर्जना गर्छ।


