यस वर्षदेखि नेपाली बैंक नोटमा नेपाल संवत्को मिति समावेश गरिने भएको छ। भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा शङ्खधर साख्वाः प्रतिष्ठानले नेपाल संवत् ११४६ को नयाँ वर्षको अवसरमा आगामी बुधबार प्रधानमन्त्री सुशीला कार्कीले शङ्खधर साख्वाःको शालिकमा माल्यार्पण गर्दै यसको औपचारिक घोषणा गर्ने सहमति भएको जानकारी दिएको छ। प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले प्रधानमन्त्रीसँग भएको छलफलमा नोटमा नेपाल संवत् उल्लेख गर्ने सहमति जुटेको र घोषणा बुधबार गरिने बताए। उनले नेपाल संवत् सम्पूर्ण नेपालीको मौलिक संवत् भएकोले यसको महत्व राष्ट्रव्यापी रहेको उल्लेख गरे।
श्रेष्ठले नयाँ वर्षको दिन हुने उक्त कार्यक्रममा प्रधानमन्त्री कार्कीले शालिकमा माल्यार्पण गर्दै उद्घाटन गर्ने जानकारी दिए।
प्रतिष्ठानका पूर्वअध्यक्ष श्यामकृष्ण मानन्धरले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै, शङ्खधर साख्वाःको योगदान र नेपाल संवत्को महत्व देश–विदेशमा फैलाउन विभिन्न ठाउँमा शालिक स्थापना भइरहेको जानकारी दिए।