‘जेनजी’ प्रदर्शनपछि उत्पन्न अस्थिर अवस्थाका कारण ६२ वटा कारागार र महत्वपूर्ण संरचनाका सुरक्षार्थ तैनाथ गरिएको नेपाली सेनाको फौज अब ४१ स्थानबाट फिर्ता भएको छ। गत भदौ २३ र २४ गतेको आन्दोलनपछि उपत्यकामा ५ र बाहिर ५७ गरी ६२ स्थानमा सेना परिचालन गरिएको थियो।
सेनाले अझै २१ स्थानमा सुरक्षा फौज तैनाथ राखिएको जनाएको छ। प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड र दङ्गा नियन्त्रणमा ल्याउन ६–८ घण्टा लगातार तैनाथीबाट अवस्था नियन्त्रण गर्न सफल भएको सेनाका उपरथी तथा युद्धकार्य महानिर्देशक अनुपजङ्ग थापाले जानकारी दिनुभयो।
थापाका अनुसार, चुनौतीपूर्ण परिस्थितिमा पनि कुनै मानविय क्षति नभई शतप्रतिशत उद्धार गर्न सकिएको छ। यसले अत्यावश्यक सेवा तथा वस्तुको आपूर्तिमा तत्काल सहयोग पुगेको उहाँको भनाइ छ।
सिंहदरबारको मुख्य भवनमा लागेको आगोका बाबजुद, सेनाको सक्रियताले राष्ट्रिय सुरक्षा परिषद्, रक्षा मन्त्रालय र अर्थ मन्त्रालयको डाटा सेन्टरलाई क्षति हुनबाट जोगाउन सफल भएको छ। सेनाले सञ्चालन गरेको ‘हटलाइन’मार्फत चोरी, लुटपाट र आगजनीका गुनासाहरूमा तत्काल कारबाही गर्दै सुरक्षा प्रत्याभूति दिइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमणको प्रयासमा जुटेका करिब दुई हजार प्रदर्शनकारीलाई रोक्दै भदौ २५ देखि विमानस्थल पूर्ण सञ्चालनमा ल्याइएको थियो। विमानस्थलमा रहेका विदेशी पर्यटकसहित उपत्यकाका कूटनीतिक नियोग तथा विदेशी नागरिकको सुरक्षाको व्यवस्थापन गरिएको थापाले बताए।
पहिलो चरणमा सिंहदरबारभित्र छिरेका प्रदर्शनकारीलाई रोक्न सेनाले सफल प्रयास गरेको थियो। तर, भीड बढेपछि घातक हतियार प्रयोगको आवश्यकता देखिए पनि मानवीय क्षति टार्न सेनाले विशेष सावधानी अपनाएको स्पष्ट गरिएको छ।