चीनका राष्ट्रपति शी जिनपिङले भ्रष्टाचारको गम्भीर आरोपमा जनमुक्ति सेनाका नौ जना उच्चपदस्थ सैन्य जनरलहरूलाई बर्खास्त गरेका छन्। यस अभियानमा दोस्रो श्रेणीका एक जना वरिष्ठ जनरलसमेत पदबाट हटाइएको छ।
केन्द्रीय सैन्य आयोगका दुई उपाध्यक्षमध्ये एक जनरल ही वेइडोङलाई शीले हटाएका हुन्। उनी पीपुल्स लिबरेशन आर्मीमा तेस्रो स्थानमा थिए र चिनियाँ पोलिटब्युरोका सदस्य पनि थिए।
एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटका सैन्य विशेषज्ञ लायल मोरिसले फाइनान्सियल टाइम्ससँग कुरा गर्दै जनरल हीको बर्खास्तीलाई पीएलएमा हालसम्मकै महत्वपूर्ण परिवर्तन भएको बताएका छन्। मोरिसका अनुसार, ही वेइडोङ केन्द्रीय सैन्य आयोगको वरिष्ठ उपाध्यक्ष बन्ने सम्भावित दौडमा थिए।
शुद्धीकरण अभियानअन्तर्गत सेनाका शीर्ष राजनीतिक अधिकारी मियाओ हुवा पनि हटाइएको जनाइएको छ। उनलाई गत नोभेम्बर २०२४ मा निलम्बन गरिएको थियो।
शीले जारी गरेको विज्ञप्तिमा बर्खास्त गरिएकाहरूले अत्यन्त ठूलो रकमको सरकारी अनियमितता गरेको आशंका गरिएको छ।
न्युजवीकको रिपोर्टअनुसार, उनीहरूको अपराधको प्रकृति गम्भीर रहेको र यसले ठूलो प्रभाव पार्ने बताइएको छ। बर्खास्त नौ अधिकारीमध्ये आठ जना केन्द्रीय समितिका सदस्य थिए।


