काठमाडौँ अनामनगरस्थित गायक तथा संगीतकार बाबुल गिरीको स्टुडियोमा एक युवतीले आत्मदाहको प्रयास गरेपछि प्रहरीको नजरमा गिरी परेका छन्। शनिबार उक्त स्टुडियोमा घटेको घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार गिरीलाई बयानका लागि कार्यालयमा बोलाएको हो। आत्मदाह प्रयासका क्रममा गिरी पनि सामान्य घाइते भएका छन्।
शनिबार दिउँसो गिरी र ती युवतीबीच स्टुडियोमै वादविवाद भएको थियो। सो क्रममा युवतीले पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्दा उनको शरीरको माथिल्लो भाग जलेको छ भने आगो निभाउने क्रममा बाबुल गिरीको हात लगायतका भागमा समेत चोट लागेको प्रहरीले जनाएको छ।
युवतीलाई तत्कालै उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल भर्ना गरिएको छ। हालसम्म घटनाको कारण खुलेको छैन भने प्रहरी अनुसन्धान जारी रहेको छ।