चालु आर्थिक वर्षको भदौसम्म बैंक तथा वित्तीय संस्थाहरूको खुद नाफा ९५ प्रतिशतले बढेको छ। कर्जा अपलेखन तथा गैरसञ्चालन आम्दानीको उल्लेखनीय वृद्धि हुँदा नाफामा सुधार देखिएको हो।
यो अवधिमा बैंक तथा वित्तीय संस्थाले जम्मा १८ अर्ब ३३ करोड ९० लाख रुपैयाँ नाफा गरेका छन्। अघिल्लो महिना साउनमा नाफा ९ अर्ब ३७ करोड ५० लाख मात्र थियो, जुन भदौमा ९५.६२ प्रतिशतले वृद्धि भएको हो।
तर, गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा चालु आवमा बैंक तथा वित्तीय संस्थाको नाफा घटेको देखिन्छ। अघिल्लो वर्ष सोही अवधिमा नाफा १९ अर्ब ७० करोड रुपैयाँ थियो।
गत वर्ष सुरुवातमा बैंकहरूले असुलीलाई प्राथमिकता दिए पनि सुस्त अर्थतन्त्रका कारण नाफामा असर परेको थियो। यस वर्ष भदौ अन्त्यतिर जेनजी आन्दोलन र तोडफोडका कारण अर्थतन्त्र थप प्रभावित भएको छ। एक बैंकका अनुसार अस्थिर राजनीतिक वातावरणले पनि नाफामा नकारात्मक असर पु¥याएको छ।
बैंकरले भने, ‘कर्जाको माग घटेको छ, पुराना कर्जा असुलीमा समस्या बढ्दै गएको छ। कोरोनापछि आएको आर्थिक मन्दी र हालको जेनजी आन्दोलनको प्रभावले असुलीमा चुनौती थपिएको छ, जसले अपेक्षित नाफा हासिल गर्न कठिन भएको छ।’
राष्ट्र बैंकले चालु आवदेखि कर्जा लगानी विस्तार र नाफा वृद्धि गर्ने नीति ल्याएको छ। यस अन्तर्गत सेयर, घरजग्गा, अटो कर्जामा सहजीकरण गरिएको छ भने असल कर्जामा गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था पनि घटाइएको छ।
यस्ता व्यवस्थाले बैंकहरूको नाफा सुधार हुने अपेक्षा गरिएको थियो। तर, राजनीतिक अस्थिरता र असुलीमा चुनौतीका कारण आम्दानीमा उल्लेखनीय सुधार देखिएको छैन। आगामी दिनमा असुली अझै जटिल हुने जोखिम देखिएको बैंकरको भनाइ छ।
भदौसम्म कर्जा अपलेखन ७७४.८४ प्रतिशतले बढेको छ। साउनमा ८० लाख बराबर अपलेखन भएकोमा भदौमा यो रकम ६ करोड ७० लाख पुग्यो।
त्यस्तै, गैरसञ्चालन आम्दानीमा पनि उल्लेखनीय वृद्धि भएको छ। भदौमा बैंक तथा वित्तीय संस्थाले १ अर्ब १८ करोड रुपैयाँ आम्दानी गरेका छन्, जुन साउनको तुलनामा ६६६.३३ प्रतिशतले बढी हो। साउनमा यो आम्दानी १५ करोड ५० लाख मात्र थियो।
सञ्चालन आम्दानी, ब्याज आम्दानी, कसिसन आम्दानी र विदेशी विनिमय कारोबारबाट हुने आम्दानी पनि क्रमशः २२१, ९९, १०० र ४८ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।
यही अवधिमा कर्जा जोखिम व्यवस्थापन खर्च २५ प्रतिशतले बढेको छ भने कर्मचारी तथा कार्यालय सञ्चालन खर्चमा शतप्रतिशत वृद्धि भएको छ।
वाणिज्य बैंकहरूले भदौसम्म १६ अर्ब ५९ करोड ९० लाख खुद नाफा गरेका छन्, जुन साउनको तुलनामा ९८ प्रतिशतले बढी हो। साउनमा यो नाफा ८ अर्ब ३८ करोड थियो।
त्यस्तै, विकास बैंकहरूको नाफा १ अर्ब ५० करोड पुगेको छ, जुन साउनको तुलनामा ८४ प्रतिशतले धेरै हो। साउनमा नाफा ८१ करोड ६० लाख थियो।
फाइनान्स कम्पनीहरूले पनि भदौसम्म २३ करोड ५० लाख खुद नाफा गरेका छन्। यो साउनको तुलनामा ३४ प्रतिशत वृद्धि हो। साउनमा उनीहरूको नाफा १७ करोड ५० लाख थियो।