काठमाडौँ । भ्रष्टाचार र बेथितिविरुद्ध भदौ २३ र २४ मा आन्दोलनमा उत्रिएको जेनजी समूह अहिले स्पष्ट विचार र राजनीतिक लक्ष्य अभावमा दिशाहीन देखिएको छ।
केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि स्वतःस्फूर्त रूपमा विरोधमा होमिएको यो समुहले काठमाडौँमा संसद् भवनअगाडि शान्तिपूर्ण प्रदर्शन गरेका थिए। सरकारको दमनका कारण १९ जनाको मृत्यु भयो भने भोलिपल्ट आक्रोशित भिडले देशभर सार्वजनिक र निजी सम्पत्ति ध्वस्त पार्यो। हिंसाले ७५ जनाको ज्यान गयो, अर्बौँको क्षति भयो र ओली सरकार पतन भयो।
जेनजीको मागअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो र ताजा निर्वाचन घोषणा भयो। तर जेनजी समूहमा विचार र राजनीतिक मार्गदर्शनको अभावले उनीहरूले उठाएका मुद्दा ओझेलमा पर्ने खतरा बढेको देखिन्छ।
नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जेनजी विद्रोहले सरकार र संसद् विघटन गर्न सफल भए पनि उठाएका माग पुरा नभएको बताए। उनले जेनजीभित्र मतभेद र समस्या समाधान नहुनु अर्को विद्रोहको जोखिम भएको टिप्पणी गरे।
निर्वाचन प्रणाली, शासकीय संरचना र संविधान पुनर्लेखनजस्ता मागमा जेनजीको विद्रोह असफल भएको विप्लवको निष्कर्ष छ। संविधान संशोधनको विषय अन्तरिम सरकारको कार्यक्षेत्रमा नपर्ने देखिएपछि जेनजीको मुख्य माग अधुरै रह्यो। प्रधानमन्त्री कार्कीले संविधान संशोधन सरकारको अधिकार क्षेत्रबाहिर भएको स्पष्ट गरिसकेकी छन्।
विद्रोहले सत्तामा दबाब त सिर्जना गर्यो, तर आपसी मतभेद र वैचारिक अस्पष्टताले कार्की सरकार पनि दबाबमा परेको छ। निर्वाचनमा सहभागीता र आगामी रोडम्यापबारे जेनजी समूहमा सहमति छैन।
‘हामी नेपाल’का नेता सुदन गुरुङ संविधान संशोधनको पक्षमा वकालत गर्दै आए पनि स्पष्ट खाका दिन सकेका छैनन्। अर्को समूहका नेता मिराज ढुंगानाले दल दर्ता गरी संगठित दबाब सिर्जना गर्ने घोषणा गरे। उनले बटम लाइन पूरा नभएसम्म चुनावमा नजाने स्पष्ट पारे।
ढुंगानाले देश विकासका लागि एनजीओ वा दल खोल्नुपर्ने भन्दै आलोचना खेप्नु परेको छ। उनले विदेशमा रहेका नागरिकलाई मताधिकारको अधिकार र ई–पासपोर्टलाई भोटर कार्डको रूपमा प्रयोग गर्न सकिने तर्क गरे।
प्रवेश दाहालले निर्वाचनअघि प्रत्यक्ष कार्यकारी निर्वाचनका लागि संविधान संशोधनको माग गर्दै संसद् बिना नै अन्तरिम सरकारबाट संशोधन सम्भव हुने तर्क राखेका छन्।
रक्षा बमले आफूहरू राजनीति र सिद्धान्तविहीन भएकाले अलमलमा परेको स्वीकार गरिन्। सिक्ने क्रममा रहेको र नयाँ वैकल्पिक शक्ति एकजुट गर्न प्रयास भइरहेको बताइन्।
राजनीतिक अपरिपक्वता र आन्तरिक असहमतिका कारण जेनजीले उठाएका मागहरू विभिन्न दल र समूहले आफ्नो दाबी गर्न थालेका छन्। विश्लेषक दीपक ज्ञवालीका अनुसार पहिलो पटक राजनीतिमा आएका जेनजीहरूले माग पुरा गर्न कठिन भएको छ।
जेनजी समूहभित्र मतैक्यता अभावले आफ्ना मुद्दा अपहरण हुने चिन्ता बढेको छ। नयाँ दल र समूहले आ–आफ्नै जेनजी एजेन्डा अघि सारेर सरकारसँग बार्गेनिङ गरिरहेका छन्। पुराना दलहरू पनि विद्रोहको जस लिन खोजिरहेका छन्।
मुद्दा अपहरणको जोखिम देखिएपछि जेनजी समूह र नयाँ दलहरू निर्वाचनमा एउटै मोर्चा बनाएर अघि बढ्ने प्रयासमा छन्।