नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि विराटनगर किङ्सले अष्ट्रेलियाका अलराउन्डर स्याम हेजलेटलाई टोलीमा भित्र्याएको छ।
हेजलेटले अष्ट्रेलियाको यू–१९ राष्ट्रिय टिमबाट एक दिवसीय अन्तर्राष्ट्रिय खेलिसकेका छन्। उनी बिग ब्यास लिगमा ब्रिसबेन हिटर्स र होबर्ट हुरिकेन्सबाट खेलेका अनुभवी खेलाडी हुन्। ५० भन्दा बढी बिग ब्यास खेलको अनुभवसहित हेजलेटले उत्कृष्ट स्ट्राइक रेट कायम गर्दै आएका छन्।
उनको आगमनले टोलीको मध्यक्रम मजबुत हुने टोली व्यवस्थापनको विश्वास छ। हेजलेटको अनुभव, बुद्धिमत्ता र खेल बुझाइले टोलीमा नयाँ ऊर्जा तथा आत्मविश्वास थपिने अपेक्षा गरिएको छ।
यसअघि विराटनगर किङ्सले स्कटल्याण्डका ओपनर जर्ज मुन्सीलाई अनुबन्ध गरिसकेको छ। सन्तुलित संयोजनसहित आगामी सिजनको उपाधि जित्ने लक्ष्यमा टोलीले तयारीलाई तीव्र बनाएको छ।