ढुम्बा गाउँपालिकाको कुछ्प तेरङ्गा गुम्बामा बौद्ध धर्मको शान्ति र स्थिरताको कामना गर्दै ‘ध्योक्योप’ पूजा तथा देव नृत्य सम्पन्न भएको छ। स्थानीय गुम्बाका लामाहरूले गुरु पद्यसम्भवको विभिन्न अवतारमा देवीदेवताका मुकुट र विशेष वेशभूषा लगाएर नृत्य प्रस्तुत गरेका थिए।
सोमबार आयोजित यस धार्मिक समारोहमा विभिन्न गुम्बाका लामाहरूले बुद्ध धर्मको परम्पराअनुसार पूजासहित सांस्कृतिक पहिरनमा देव नृत्य प्रस्तुत गरे।
गुरु पद्यसम्भवका विविध रूपको अवतारमा देखिने देवीदेवताका मुकुट लगाएका लामाहरूको नृत्य प्रदर्शनले बौद्ध धर्ममा आस्था राख्ने श्रद्धालुहरूलाई धार्मिक मोक्षको अनुभूति हुने विश्वास गरिएको छ। यो परम्परा झण्डै ५० वर्षदेखि निरन्तर चल्दै आएको छ।
गुरु पद्यसम्भवसँग जोडिएका देवीदेवताहरूको नृत्य हेर्दा मृत्युपछि स्वर्ग प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता छ। लामाहरूले सामूहिक रूपमा ढ्याङ्गो लगायतका बाजाको तालमा नृत्य प्रस्तुत गरेको स्थानीय नीरज थकालीले जानकारी दिए।
ध्योक्योप पूजा र नृत्य अवलोकनले ग्रहदशा हटाउने, अनिष्ट टार्ने, विपद् रोक्ने तथा अशान्ति र दुःखको अन्त्य गराउने जनविश्वास छ। भक्तजन भगवान् चिनून् भन्ने उद्देश्यले यो नृत्य प्रत्येक वर्ष देखाइने परम्परा रहेको थकालीले बताए।
ध्योक्योप हेर्न जोमसोम, स्याङ, मार्फा, ठिनी, कागबेनी लगायतका ठाउँबाट सर्वसाधारण सहभागी भएका थिए।
ढुम्बा, स्याङ र टुकुचेका गुम्बाहरूमा हरेक वर्ष ध्योक्योप पूजा तथा देव नृत्यको परम्परा निरन्तर चल्दै आएको छ।