कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटास्थित बादी समुदायको बस्तीमा तिहारको चहलपहल देखिँदैन। देशभर दीपावलीको उत्सव मनाइँदा पनि यहाँको बस्ती सुनसान छ। यस बस्तीमा हाल महिला, बालबालिका र वृद्धबृद्धामात्रै छन्।
बस्तीका अधिकांश युवाहरू रोजगारीको लागि भारत गएका छन्। महिनौँअघि गएका युवाहरूको केहीले बिदा नपाएर, केहीले काम नपाएर आवश्यक खर्च जुटाउन नसक्दा तिहारमा घर फर्कन सकेका छैनन्।
बस्तीकी रत्ना कुमाल (बादी) ले दैनिक दुई छाक जुटाउनै समस्यासँग जुध्नुपर्ने भएकाले चाडपर्व आए पनि कुनै विशेषता नहुने बताइन्। ‘मिठो मसिनो खाने, नयाँ लुगा लगाउने रहर त सबैलाई हुन्छ, तर पेट पाल्न गाह्रो हुँदा चाडपर्वको रौनक नै अनुभूति हुँदैन,’ उनले भनिन्।
बस्तीकी वृद्धा शान्ति कुमाल अहिले आफ्ना नाती–नतिनाको हेरचाहमा व्यस्त छिन्। उनका छोराछोरी भारतमा मजदुरी गर्न गएका महिनौँ भइसक्दा पनि तिहारमा फर्कन सकेका छैनन्। ‘फर्कन्छु भनेका थिए, तर तलब नपाउँदा आउन सकेनन्,’ उनले दुखेसो पोखिन्।
पदमबहादुर राना (बादी) का अनुसार गुन्यालफाँटामा ६२ घरधुरीमध्ये अहिले करिब २५ परिवार मात्र छन्, बाँकी सबै परिवार मजदुरीका लागि भारत गएका छन्। ‘बादी समुदायका परिवारसँग आधा वा एक कठ्ठा जग्गा मात्र छ, त्यहीँ घर बनाएका छौं। कमाउने ठाउँ नभएकाले घरमा ताला लगाएर जानुपरेको छ,’ उनले जानकारी दिए।
पहिले माटाका भाँडादेखि मादल बनाउने, विवाह तथा चाडपर्वमा नाचगान गरेर जीविका चलाउने परम्परागत पेशा अब हराइसकेको छ। समयसँगै उक्त व्यवसाय टिक्न नसक्दा बादी समुदायको आयस्रोत समाप्त भएको पदमबहादुर बताउँछन्।
‘सरकारले हाम्रो लागि आयमूलक रोजगारीका अवसर सिर्जना गर्नुपर्ने हो,’ उनले भने, ‘तर केन्द्रदेखि स्थानीय तहसम्म कसैले हाम्रो जीवनस्तर सुधार्न चासो दिएको छैन।’ शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता संवैधानिक अधिकारबाट बादी समुदाय अझै वञ्चित रहेको उनले उल्लेख गरे।
बस्ती छेउको वनहरा नदीले प्रत्येक वर्ष कटान गर्दा बादी परिवार विस्थापनको जोखिममा छन्।
‘वर्षामा नदीको डर, सुख्खामा पेट पाल्ने चिन्ता, हाम्रो जीवन यस्तै छ,’ रत्ना कुमालले भनिन्।
दलित अधिकारकर्मी शिवी लुहारका अनुसार बादी समुदायलाई स्वरोजगार, सीपमूलक तालिम तथा आयमूलक कार्यक्रमले आत्मनिर्भर बनाउन सकिने भएकाले सरकार तीनै तहमा ध्यान दिनुपर्ने आवश्यकता छ।