काठमाडौं, ३१ असोज । नेपालले अपराजित रहँदै आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ । शुक्रबार ओमानमा सम्पन्न अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले समूह चरणदेखि सुपर सिक्ससम्म सबै खेल जितेर अपराजित च्याम्पियन बनेको हो ।
नेपालले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा सामोआले २० ओभरमा ७ विकेट गुमाउँदै केवल ८७ रनमै समेटियो। सामोआका ब्याटर सिन सोलियाले सर्वाधिक ४० रन बनाए ।
नेपालका बलरमध्ये ललित राजवंशीले ३ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले एक(एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले आसिफ शेख र दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको थियो । आसिफले ४१ बलमा ७ चौका र ४ छक्कासहित ६९ रन बनाए भने दीपेन्द्रले २ चौका र ४ छक्कासहित ५३ रनको योगदान दिए ।
त्यसपछि लोकेश बमले केवल ११ बलमा ३९ रनको विस्फोटक पारी खेल्दै टिमको रन गति उचाले । कप्तान रोहित पौडेल २१ रनमा अविजित रहे भने कुशल भुर्तेलले १७ रन जोडे ।
सामोआका बलर डानियल बर्गस, साउमानी ताइ, डारियस भिसर र नोआह मिडले एक-एक विकेट लिए ।
यो जितसँगै नेपालले ११ वर्षपछि पहिलोपटक आईसीसी प्रतियोगिताको उपाधि हात पारेको हो । यसअघि नेपालले अन्तिमपटक सन् २०१४ मा आईसीसी डिभिजन ४ को उपाधि जितेको थियो । सन् २०२३ को विश्वकप छनोटमा नेपाल फाइनलमा ओमानसँग सुपर ओभरमा पराजित भएको थियो ।
समूह चरणमा नेपालले कुवेत र जापानलाई पराजित गरेको थियो । सुपर सिक्समा प्रवेश गरेपछि नेपालले यूएईविरुद्ध १ रन, कतारविरुद्ध ५ रन, र ओमानविरुद्ध ३८ रनले जित निकाल्दै उपाधि सुनिश्चित गरेको हो ।
यो उपलब्धिसँगै एसिया(प्यासिफिक क्षेत्रबाट नेपाल, यूएई र ओमानले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने आईसीसी टी(२० विश्वकपको टिकट काटेका छन् ।