शुक्रबार, अमेरिकाका ५० वटै राज्यका सहरहरूमा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको नीतिविरुद्ध ‘नो किंस’ नामक बृहत् प्रदर्शन सम्पन्न भयो। लाखौं नागरिक सडकमा उत्रिएर ट्रम्पको शासकीय शैलीलाई राजा वा सम्राटको जस्तो भन्दै विरोध जनाएका थिए।
अमेरिकामा अधिनायकवाद बढेको सन्देशसहित नागरिकहरू ‘राजा चाहिँदैन’ भन्ने नारासहित एकजुट भएका थिए। प्रदर्शनकारीहरूले लोकतन्त्रका रक्षा, जनताको अधिकार र स्वतन्त्रताका पक्षमा आवाज उठाए।
संयुक्त आयोजक मोर्चाले ‘नो किंस’ आन्दोलनलाई पछिल्लो समयको इतिहासमा सबैभन्दा ठूलो प्रदर्शनहरूमध्ये एक मानिएको जानकारी दियो। यो प्रदर्शन गत जुनमा भएको राष्ट्रिय आन्दोलनपछि दोस्रो ठूलो आन्दोलन थियो।
आयोजकका अनुसार, देशभरि दुई हजार ६०० भन्दा बढी स्थानमा कार्यक्रम तय गरिएको थियो। गत जुनमा आयोजित प्रदर्शनमा २० देखि ४८ लाखसम्म सहभागी भएका थिए।
हार्वर्ड क्राउड काउन्टिङ कन्सोर्टियमका अनुसार, ट्रम्पले सन् २०१७ मा पद सम्हालेयता अमेरिकामा भएको दोस्रो ठूलो एकदिने प्रदर्शन यही हो।
‘नो किंस’ के हो?
‘नो किंस’ विरोध प्रदर्शन ट्रम्प प्रशासनको शक्तिको दुरुपयोग, क्रूरता र भ्रष्टाचारविरुद्ध आयोजित आन्दोलन हो। द न्युज जर्नलले यसलाई ऐतिहासिक शान्तिपूर्ण र्यालीका रूपमा उल्लेख गरेको छ।
आयोजकहरूले अमेरिकामा राजतन्त्र छैन, शक्ति जनता स्वयंमा निहित छ भन्ने सन्देश अन्तर्राष्ट्रिय स्तरमा दिन खोजिएको बताएका छन्।
संस्थाको वेबसाइटमा तानाशाहीविरुद्धको शान्तिपूर्ण प्रतिरोध अभियानको रूपमा ‘नो किंस’ आन्दोलनको व्याख्या गरिएको छ। ‘कुनै सिंहासन छैन, कुनै मुकुट छैन, कुनै राजा छैन’ प्रदर्शनकारीहरूको मुख्य नारा थियो।
प्रदर्शनकर्ताहरूले ट्रम्प प्रशासनको वर्तमान नीति, अराजकता, भ्रष्टाचार र क्रूरता विरुद्ध खुलेर असहमतिका आवाज उठाएका छन्। उनीहरूले लोकतन्त्र र नागरिक अधिकारका पक्षमा दृढता देखाएका छन्।
शनिबारको र्यालीमा ट्रम्प प्रशासनको आप्रवासन नीति, गैरकानुनी गिरफ्तार, भोटिङ अधिकारमा हस्तक्षेप, स्वास्थ्य, वातावरण र शिक्षा नीतिविरुद्ध व्यापक विरोध भएको थियो। मतदातासँग सम्बन्धित नक्सामा धाँधली, सामूहिक गोली काण्डको बेवास्ता तथा अर्बपति सहयोगीहरूलाई लाभ दिने कदमसमेत प्रदर्शनको मुख्य विषय बने।
विभिन्न समुदायका नागरिकहरू ब्यानर, ब्यान्ड, हस्ताक्षरयुक्त संविधानको ब्यानर र विविध पोसाकसहित प्रदर्शनमा सहभागी भएका थिए।
ओरेगनको पोर्टल्यान्डमा ‘भ्यागुतोको पोसाक’ले प्रतिरोधको प्रतीकका रूपमा प्रदर्शनमा विशेष ध्यान तानेको थियो।
राष्ट्रिय राजनीतिक परिदृश्यमा डेमोक्र्याटहरू निर्वाचनमा पराजयपछि चिन्तित थिए। तर, ‘नो किंस’ प्रदर्शनले वर्तमान राजनीतिक माहोल बदलिएको छ भन्ने संकेत दिएको छ।
‘इन्डिभिजिबल’का सहसंस्थापक एज्रा लेभिनले डेमोक्र्याटहरूमा अहिले साहस बढेको बताउँदै आत्मसमर्पण नगर्न आह्वान गरेका छन्।
शिकागो ट्रिब्युनका अनुसार, ग्रान्ट पार्कमा १० हजारदेखि एक लाखसम्म नागरिक उपस्थित थिए। प्रदर्शनकारीहरूले संघीय अधिकारीको विरोध र ट्रम्पको उपहासका ब्यानर बोकेका थिए। मेयर ब्रान्डन जोन्सनले ट्रम्प प्रशासनमाथि गृहयुद्धको पुनरावृत्तिको आरोप लगाए।
लस एन्जलसमा ७२ वर्षीया गिनी एस्ब्याकले ट्रम्पको कार्यकालपछिको ४२औँ प्रदर्शनमा स्पोन्जबब स्क्वेयरप्यान्ट्सको पोसाकमा भाग लिएकी थिइन्। उनले आफुहरूको असन्तुष्टि शान्तिपूर्ण तरिकाले व्यक्त भएको बताइन्।
वासिङ्टन डीसीमा दुई लाखभन्दा बढी नागरिक क्यापिटल नजिकै भेला भएका थिए। पोर्टल्यान्डमा मुख्य प्रदर्शन शान्तिपूर्ण भए पनि आप्रवासन कार्यालयबाहिर सानो झडप भएको थियो।
न्यू मेक्सिकोको सान्टा फेमा युनिकर्न, कुखुरा र भ्यागुतोको पोसाकमा प्रदर्शनकारीहरू देखिएका थिए। एमी एडलरले लब्स्टरको पोसाकमा ‘विसंगतिको प्रतीक’ भन्दै उपस्थित भएकी थिइन्।
जर्जियाको अटलान्टामा बिहानै १० हजारभन्दा बढी नागरिक सिभिक सेन्टरमा जम्मा भएर राजधानीतर्फ मार्च गरेका थिए।
ट्रम्प प्रशासनले संघीय सैनिक तथा आप्रवासी अधिकारीहरू तैनाथ गर्ने, असहमतिलाई आपराधिक बनाउने, वामपन्थी संगठनलाई आतंकवादको आरोप लगाउने कार्य गरिरहेको छ।
ट्रम्पका समर्थकहरूले ‘नो किंस’ प्रदर्शनलाई अमेरिका विरोधी ‘एन्टिफा’द्वारा सञ्चालित बताउँदै सरकारी सटडाउन लम्बिएको दाबी गरेका छन्।
टेक्ससका गभर्नर ग्रेग एबोटले अस्टिनमा नेसनल गार्ड तैनाथ गर्ने घोषणा गरेका थिए।
डेमोक्र्याट सिनेटर चक शुमर, क्रिस मर्फी तथा स्वतन्त्र बर्नी स्यान्डर्सजस्ता नेताहरूले प्रदर्शनमा सहभागिता जनाए।
‘नो किंस’ मोर्चाले अहिंसात्मक प्रतिरोधको प्रतिबद्धता जनाउँदै हजारौं सहभागीलाई सुरक्षा र तनाव कम गर्ने तालिम दिएको छ।
आयोजकहरूले प्रदर्शनको आधार लोकतन्त्र र राजाविहीन समाज रहेको र ट्रम्प प्रशासनको अधिनायकवादी प्रवृत्तिविरुद्ध लक्षित गरिएको स्पष्ट पारे।
‘पब्लिक सिटिजन’ की सहअध्यक्ष लिसा गिल्बर्टले राष्ट्रपति जनतालाई भय देखाउन खोजे पनि नागरिक डरले थिचिने छैनन् भन्ने सन्देश दिइन्।
‘नो किंस’ प्रदर्शनका तीन मुख्य पक्ष
१. अमेरिकाको स्वतन्त्रता जोगाउने पहल
प्रदर्शनकारीहरूले ट्रम्प प्रशासनको आप्रवासन नीति, संघीय हस्तक्षेप, लोकतन्त्र र संवैधानिक अधिकारका पक्षमा प्रदर्शन गरेका थिए। अमेरिकी स्थापना सिद्धान्त र स्वतन्त्रताको सन्देशलाई जोडिएको थियो।
वासिङ्टन डीसीमा ‘नो किंस, नो टायरन्ट्स’ लेखिएका ब्यानर र पहेँलो पोसाकमा एकता देखाइएको थियो। बर्नी स्यान्डर्सले धनी र शक्तिशालीमाथि ट्रम्पको झुकावलाई निशाना बनाए।
क्यालिफोर्नियाको सान पाब्लोमा मारिया फ्लोरियानोले आप्रवासनलाई ‘पुतली’सँग तुलना गर्दै प्रवासको सुन्दरता र साहसको महत्त्व उल्लेख गरिन्।
२. ट्रम्प र रिपब्लिकनको प्रतिक्रिया
सिनेट अध्यक्ष माइक जोन्सनले प्रदर्शनलाई अमेरिका विरोधी भन्दै आलोचना गरे। ह्वाइट हाउसका प्रवक्ता एबिगेल ज्याक्सनले ‘के फरक पर्छ?’ भन्ने प्रतिक्रिया दिए। ट्रम्प प्रदर्शनका बेला फ्लोरिडामा थिए।
कनेक्टिकटका रिपब्लिकन नेता भिन्सेन्ट क्यान्डेलोरले प्रदर्शनले समाजमा फूट ल्याउने भए पनि अभिव्यक्ति स्वतन्त्रताको अधिकार महत्त्वपूर्ण रहेको बताए।
३. हास्य र शान्तिपूर्ण सांस्कृतिक प्रदर्शन
ओरेगनको पोर्टल्यान्डबाट प्रेरित भएर देशभर जनावरको पोसाक, गीत-नाच लगायतका सांस्कृतिक कार्यक्रमहरू प्रदर्शनमा देखिए। नागरिकहरूले आफ्नो क्रान्तिकारी सन्देश ब्यानर, पोसाक र नाराबाट प्रकट गरे।
जर्जियाको मेकनमा ‘हैमिल्टन’ म्युजिकलको गीत ‘द स्टोरी अफ टुनाइट’ गाएर भविष्यको स्वतन्त्रता र एकताको सन्देश फैलाइएको थियो।


