नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकभर बढ्दो असुरक्षाको कारण टोल टोलमा सुरक्षा समिति गठन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनले प्रहरीलाई सहयोग पुर्याउन जनस्तरबाट सुरक्षा समिति बनाउनु अपरिहार्य भएको बताए।
शनिबार पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित सम्पर्क समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले समाजमा डर र कायरता फैलाएर राज्यलाई कमजोर बनाउने प्रयास भइरहेकाले नागरिकहरू आफैं सचेत र सजग बन्नुपर्ने अवस्था आएको उल्लेख गरे।
ओलीले सरकार अपराधीहरूलाई उन्मुक्ति दिन र राजनीतिक नेताहरूलाई पक्राउ गर्न उद्यत रहेको आरोप लगाए। यस्तो परिस्थितिमा जनताको सुरक्षाका लागि टोल स्तरमा समिति गठन गर्नु अपरिहार्य भएको उनको भनाइ छ।
कार्यक्रममा उनले पार्टीका नेता तथा कार्यकर्तालाई सत्यका पक्षमा दृढ रहन र बोल्न आग्रह गरे। वाक स्वतन्त्रता सबैको अधिकार भएकोले अपराधीले मनपरी बोल्न पाउने र सच्चा कुरा राख्न नपाउने अवस्था हुन नदिने उनले स्पष्ट गरे।
ओलीले तिहारमा अँध्यारो रातमा उज्यालो ल्याउन बत्ती बालिए जस्तै, देशमा छाएको अन्धकार हटाउन पनि उज्यालो फैलाउनुपर्ने बताए। सत्ताको अँध्यारो विरुद्ध उज्यालोको ज्योति बाल्न कार्यकर्तालाई आह्वान गरे।
अध्यक्ष ओलीले अहिले देशमा चुनावको अवस्था नरहेको दाबी गर्दै विघटित संसद पुनःस्थापनाको माग पार्टीले गरेको जानकारी दिए। अपराधी जेलबाट भाग्दा र लुटिएका हतियार फिर्ता नहुँदासम्म चुनाव सम्भव नभएको तर्क गरे। उनले सरकार र अपराधीबीच साँठगाँठ भएको आशंका पनि व्यक्त गरे।