पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सम्पत्तिको हरेक पैसाको छानबिन गर्न सरकारसहित पत्रकार महासंघलाई पुनः आह्वान गरेका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले बारम्बार छानबिनको माग गर्दै आएको उल्लेख गरे।
ओलीले आफूबाट कुनै भ्रष्टाचार नहुएको दाबी गर्दै छानबिनका लागि सरकार वा पत्रकार महासंघ, सम्पादक मण्डल जोसुकै भए पनि अघि सर्न सक्ने बताए। उनले जोड दिँदै भने, “अरूको नसके, मेरो मात्रै गरे पनि हुन्छ।”
ओलीले आफ्नो घरमा लागेको आगोको खरानीसमेत हिसाब गर्न तयार रहेको उल्लेख गरे। “मेरो घरको डढेको खरानीको कणकणसम्म तपाईँहरूले हिसाब गर्न सक्नुहुन्छ,” उनले भने।
सरकारद्वारा बैंक खाता रोक्का गरिएको निर्णयप्रति ओलीले प्रतिक्रिया दिँदै भने, “सांसद र प्रधानमन्त्री हुँदा पाएको सबै रकम जम्मा गर्दा २०–२५ लाख जति बैंकमा छ होला। त्यो त एकछिनमै बैंकले हिसाब दिन्छ। विश्वभरका सरकारलाई सूचना जारी गरेर पनि मेरो सम्पत्तिको छानबिन गर्न सकिन्छ।”
ओलीले भावनात्मक भएर नभई सत्य स्थापनाका लागि छानबिनको माग गरेको स्पष्ट पारे। उनले केन्द्रीय कमिटीको बैठकले समेत सम्पत्ति छानबिनको माग गरिसकेको जनाए। ओलीले सबै शंकास्पदको सम्पत्ति छानबिन गरिनुपर्ने सुझाव दिँदै भने, “देश मेरो मात्रै होइन, सदाचार चाहिएको हो भने सबैको सम्पत्ति छानबिन गरौँ।”