काठमाडौंको तार्केश्वर नगरपालिका–३ चिसापानी सडकमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका २६ वर्षीय अमित पुतुवारको उपचारका क्रममा मृत्यु भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार स्थानीय सिटी अस्पतालमा उपचाररत पुतुवारको आज बिहान निधन भएको हो।
प्रवक्ता सुवेदीले जनाए अनुसार बिहान करीब ३:४५ बजे तीनपिप्लेबाट धर्मस्थलीतर्फ जाँदै गरेको बा.प्र.०२–०५३ प ९६७९ नं.को मोटरसाइकल अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठोक्किँदा चालक अमित पुतुवार गम्भीर घाइते भएका थिए। उनलाई तत्काल सिटी अस्पताल पुर्याइए पनि उपचारका क्रममा ज्यान गुमाएका हुन्।
दुर्घटनामा सोही मोटरसाइकलमा सवार तार्केश्वर–३ का २० वर्षीय समिर पुतुवार पनि घाइते भएका छन्। उनको हात, खुट्टा, टाउको तथा छातीमा चोट लागेकोले थप उपचारका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रहरी प्रवक्ता सुवेदीले जानकारी दिए।