मलेसियामा सम्पन्न आठौं जेविन मलेसिया ओपन तेक्वान्दो प्रतियोगितामा पदक जितेका नेपाली खेलाडी तथा अफिसियललाई काठमाडौंको डाँछीस्थित नेप्लिज तेक्वान्दो एकेडेमीले शनिबार एक कार्यक्रमका बीच सम्मान गरेको छ।
कार्यक्रममा शंकरापुर अस्पतालका मेडिकल डाइरेक्टर डा. रमेश ढकालले विजयी खेलाडी तथा अफिसियललाई सम्मानपत्र प्रदान गरेका थिए।
सम्मानित हुनेमा स्वर्ण पदक विजेता केनिश खड्का, गोविन्द योन्जन तामाङ र आयुश बोहरा तथा रजत पदक विजेता सन्दीप बस्नेत रहेका छन्।
यसैगरी, टोलीका प्रशिक्षक श्रीकृष्ण खड्का, म्यानेजर गणेशबहादुर खड्का र टोली प्रमुख महेन्द्रराज घिमिरेलाई समेत सम्मान गरिएको छ।
नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष तथा प्रमुख प्रशिक्षक अशोक खड्काले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर देशको नाम चम्काउने खेलाडी र अफिसियललाई प्रोत्साहनस्वरूप सम्मान गरिएको बताए।
आठौं जेविन मलेसिया ओपन तेक्वान्दो प्रतियोगितामा अशोक खड्का स्वयं निर्णायकको रूपमा सहभागी भएका थिए र उनलाई प्रतियोगिताको उत्कृष्ट निर्णायकसमेत घोषित गरिएको थियो।