ललितपुरको धापाखेलमा प्रहरीले पेस्तोलसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक चक्र जोशीका अनुसार, गएराति २ः५० बजे खोटाङ, साकेला गाउँपालिका–१ का शिवकुमार बिकलाई चार लाख अठहत्तर हजार रुपैयाँ नगदसहित नियन्त्रणमा लिइएको हो।
बिक हाल ललितपुर महानगरपालिका–२३, धापाखेलमा बस्दै आएका थिए।
मदिरा सेवन गरी हल्ला गरेको सूचनापछि प्रहरी टोलीले बिकको जाँच गर्दा गोली नभएको एक थान चाइनिज पेस्तोल (म्याग्जिनसहित), नगद र मोबाइल फोन बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका बिकमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ।