नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् उपभोग गर्दा प्रिमियम महसुल नतिरेका कारण ६ वटा प्रमुख उद्योगको विद्युत् आपूर्ति मंगलवारदेखि काटिएको छ।
प्राधिकरणले लोडसेडिङ अवधिमा विशेष लाइनमार्फत विद्युत् प्रयोग गर्ने उद्योगहरूले तोकिएको अतिरिक्त शुल्क तिर्न बाँकी रहेको भन्दै विगतदेखि नै लाइन काट्ने प्रक्रिया अघि बढाएको जनाएको छ।
उद्योगीहरूले भने प्राधिकरणसँग भएको सम्झौताअनुसार विद्युत् प्रयोगको प्रमाण प्रस्तुत गर्न दबाब दिँदै आएका छन्।
कटौती गरिएको उद्योगहरूमा जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीज र त्रिवेणी स्पिनिङ मिल्स रहेका छन्।
प्राधिकरणको दाबी अनुसार जगदम्बा स्टीलले १ अर्ब ६० करोड, रिलायन्स स्पिनिङ मिल्सले ७५ करोड ३७ लाख, शिवम् सिमेन्टले ७७ करोड ८८ लाख, घोराही सिमेन्टले ५० करोड ८५ लाख, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीजले ४४ करोड ८४ लाख तथा त्रिवेणी स्पिनिङ मिल्सले ३२ करोड १० लाख रुपैयाँ प्रिमियम महसुल तिर्न बाँकी छ।
यो विवाद लोडसेडिङका बेला, अर्थात् २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड लाइनमार्फत विद्युत् उपयोग गर्दा तिर्नुपर्ने अतिरिक्त शुल्क नबुझाएको विषयमा उठेको हो।


