नेपाली क्रिकेटका अनुभवी खेलाडी शरद भेषावकरले आउँदो हङकङ सिक्सेस प्रतियोगितापछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार शरदको कप्तानीमा हङकङमा आयोजना हुने हङकङ सिक्सेसका लागि नेपाली टोलीको घोषणा गरेको छ। प्रतियोगिता सकिएपछि शरदले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो यात्रा टुङ्ग्याउने क्यानले जानकारी दिएको छ।
सन् २०२२ यता शरद राष्ट्रिय टोलीमा नसमेटिए पनि उनले औपचारिक सन्यास भने लिएका थिएनन्। गत वर्ष नेपाल प्रिमियर लिगमा चितवन राइनोजबाट खेलेका शरद यसपटक कुनै टोलीमा बिक्री भएनन्। सन् २०१४ मा नेपालले पहिलोपटक विश्वकप खेलेको समयमा उनी टोलीका सदस्य थिए।
हङकङ सिक्सेस प्रतियोगिता नोभेम्बर ७ देखि ९ तारिखसम्म सञ्चालन हुने छ। नेपाल दोस्रोपटक उक्त प्रतियोगितामा सहभागी हुँदैछ। टोलीमा शरदसँगै आदिल आलम, सन्दीप जोरा, रसिद खान, लोकेश बम, बसिर अहमद र रुपेश सिंह रहेका छन्।
यस टोलीका आदिल, सन्दीप र लोकेशले हालै सम्पन्न टी–२० विश्वकप छनोटमा नेपालको प्रतिनिधित्व गरेका थिए।