सार्वजनिक भवनको सुरक्षा गर्न नसकेको आरोपमा नेपाली सेनाले तीन जना कमाण्डरलाई नियन्त्रणमा लिएको छ। सैनिक मुख्यालयले घटनाबारे स्पष्ट जानकारी लिन २–३ जना कमाण्डरलाई मुख्यालयमा बोलाएको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिएका छन्।
तर, प्रवक्ता बस्नेतले घटनाको विस्तृत विवरण अहिले सार्वजनिक गर्न अस्वीकार गरे। उनले अनुसन्धान प्रक्रिया जारी रहेकाले अहिलेका लागि थप जानकारी दिन नसकिने बताए।
‘संवेदनशील स्थानमा तैनाथ भएका सेनाका कमाण्डरलाई मुख्यालयले नियन्त्रणमा लिएको छ,’ बस्नेतले अन्नपूर्णसँग भने, ‘के कस्तो भएको हो बुझ्न २–३ जना कमाण्डरलाई मुख्यालयमा बोलाइएको हो।’
सिंहदरबार, राष्ट्रपति कार्यालय, अदालतलगायत सरकारी भवन जोगाउन नसक्दा नेपाली सेनाको आलोचना हुन थालेपछि मुख्यालयले छानबिन प्रक्रिया थालेको हो। सहायक रथी बस्नेतका अनुसार अन्य कमाण्डरहरूबारे पनि अनुसन्धान भइरहेकाे छ।
अदालतका कर्मचारीहरूले केही सैनिक उपस्थित भएको भए न्यायालयका भवनहरू सुरक्षित रहन सक्थे भन्ने धारणा राखेका छन्। उनीहरूले १०–१५ जना प्रदर्शनकारीले अदालतमा आगजनी गर्दा सेनाको उपस्थिति भए प्रदर्शनकारीहरू डराउने थिए भनेका छन्।