जुम्ला — चन्दननाथ नगरपालिका–१ आचार्यवाडाका ७९ वर्षीय रमानन्द आचार्यले तयार पारेको ‘खसिया आखर’ नामक खस शब्दकोष अन्ततः १७ वर्ष लामो मेहनतपछि प्रकाशित भएको छ। १,३०० पृष्ठमा फैलिएको यस शब्दकोषमा ४० हजारभन्दा बढी खस शब्द समेटिएका छन्। कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले यसको औपचारिक लोकार्पण गरे।
शब्द संकलनदेखि प्रकाशनसम्मका विभिन्न चुनौती झेल्दै आएका आचार्यको यो कृति सामाजिक विकास मन्त्रालयको सहयोगमा छापिएको हो। शब्द संकलनमा सघाउने व्यक्ति पाउन कठिन भएकोले कतिपयले त उनको प्रयासप्रति नै आशंका व्यक्त गर्थे। तर निरन्तर प्रयासपछि अन्ततः शब्दकोष सार्वजनिक भएको छ।
उनको कामको केहीले प्रशंसा गरे भने आलोचना पनि भयो। जिल्ला समन्वय समितिको परिसरमा छुट्टै कोठा दिइएपछि उनले निरन्तर रातदिन शब्द संकलन र लेखनमा बिताए। कोठाको ढोकामा ‘खसिया आखर’ बोर्ड टाँगेर उनी एक्लै जुटिरहे।
आचार्यले भने, ‘नेपाली भाषाको मूल जुम्लाको खस भाषा हो। यो शब्दकोष प्रकाशित भएपछि मेरो सपनाले सार्थकता पाएको छ।’ १७ वर्ष लगाएर तयार भएको शब्दकोषमा खसभाषाका मौलिक शब्द मात्रै समेटिएको उनले जानकारी दिए।
शब्दकोषमा आधुनिक आयातित शब्दहरू राखिएको छैन। प्रकाशनका लागि दाता खोज्न लामो समय लागेको आचार्यले पाण्डुलिपी दराजमै थन्किने डर थियो भने। ‘मर्नुअघि सपना पूरा भयो,’ उनले भने, ‘अब भावी पुस्ताले खस सभ्यता अध्ययन गर्न सक्नेछन्।’
शब्दकोष निर्माणका लागि उनले विभिन्न निकाय, संघ संस्था र व्यक्तिसँग सहयोग मागे। तर आर्थिक लाभ नभएकाले अधिकांश पन्छिए। अन्ततः प्रदेश सरकारको सहयोगमा एक हजार प्रति छाप्न सकिने गरी बजेट व्यवस्थापन भयो।
स्थानीय तहले पनि साथ दिने वचन दिएका छन्। एक प्रति छाप्न १,५०० रुपैयाँभन्दा बढी खर्च लाग्ने यो शब्दकोषले खस भाषाको संरक्षणमा योगदान दिने सामाजिक विकासमन्त्री भण्डारीले बताए। उनले प्रदेश सरकार खस भाषाको पाठ्यक्रम निर्माण र पठनपाठनमा प्रतिबद्ध रहेको उल्लेख गरे।
भाषाशास्त्री डा. माधवप्रसाद शास्त्रीले ‘खसिया आखर’ प्रकाशनले कर्णालीको गौरव बढाएको बताए। ‘शब्दकोष लेखन कठिन कार्य हो, त्यो साहस देखाउनुभएकोमा आचार्यलाई बधाई छ,’ उनले भने।
२०६५ साल बैशाख ११ गते जिल्ला परिषद्ले खस भाषाको संरक्षणका लागि शब्दकोष प्रकाशन गर्ने निर्णय गरेर आचार्यलाई जिम्मेवारी दिएको थियो। ‘खसिया आखर’ शब्दकोषले कर्णालीका खस भाषा अध्ययन गर्न सजिलो बनाएको छ।
आचार्यले हुम्ला, डोल्पा, कालिकोट, मुगु र जुम्लाका ग्रामिण बस्तीमा पुगेर शब्द संकलन गरे। फरक–फरक शैलीका शब्द अर्थ्याउन कठिन रहेको अनुभव उनले सुनाए। उनी स्वयम् कम्प्युटर चलाउन नसकेपछि टाइपिस्टमार्फत शब्द टाइप गराए। केही खस शब्द त कम्प्युटरको सफ्टवेयरमै भेटिएनन।
शब्दकोष लेखनका लागि पहिलो वर्ष जिल्ला विकास समितिले २ लाख रुपैयाँ छुट्याएको थियो। कथ्य भाषाका रूपमा सीमित खस भाषालाई संरक्षण र लिपिबद्ध गर्न शब्दकोष निर्माण गरिएको उनले बताए।
शब्दकोष चार उपभाषिकामा विभाजन गरिएको छ। दराली भाषिकामा ८० दरा, पाँच सय दरा र सिञ्जा दरा, त्रिविकोटी भाषिकामा चौधबीस दरा र डोल्पा, रासकोटी भाषिकामा कालीकोट, मुहु भाषिकामा मुगु र हुम्लाका शब्द समेटिएको छ।
शब्द संकलनका लागि पाँच सदस्यीय समिति गठन गरिएको थियो। तर समयसँगै समिति निष्क्रिय बन्दा आचार्य एक्लैले कार्य अघि बढाए। प्रारम्भमा गणेश चौलागाईं, हरिशरण आचार्य, प्रकाशचन्द्र खत्री, हरिबाबु चौलागाईं संलग्न भए पनि पछि उनीहरू टाढिए।
सदरमुकाम खलंगा बजारसम्म दैनिक आधा घण्टा पैदल हिँडेर शब्द संकलनको काम गरे। सुविधा र सहयोग अभावमा एक्लै गाउँ–गाउँ पुग्दै शब्द संकलन गर्नुपर्ने बाध्यता थियो।
आचार्यले वर्णानुक्रममा शब्द राख्दै अर्थ्याउने काम पनि एक्लै गरे। ‘यो शब्दकोषले १८४६ पूर्वको खस राज्यको पहिचान जोगाउने छ,’ उनले बताए। सामाजिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्व जीवन्त राख्ने अपेक्षा गरिएको छ।
‘गाउँबस्तीमा विदेशी भाषाको प्रभाव बढ्दो छ,’ आचार्यले भने, ‘युवा पुस्ताले खसभाषा अध्ययन–अनुसन्धानका लागि यो शब्दकोषलाई माइलस्टोन बनाउनेछ।’


