अध्यक्ष पंकजबिक्रम नेम्बाङ साउदी अरेबियामा रहेका बेला वरिष्ठ उपाध्यक्ष खड्का आफू विधान अनुसार स्वतः कार्यवाहक अध्यक्ष बनेको दाबी गर्दै आएका छन्। उनले विधानले दिएको अधिकारअनुसार जिम्मेवारी सम्हालेको बताएका छन्।
तर नेम्बाङले खड्कालाई कार्यवाहक अध्यक्ष घोषणा गर्ने कुनै औपचारिक पत्र दिएका छैनन्।
यसअघि कार्यवाहक अध्यक्षको हैसियतमा खड्काले महासचिव राईलाई तीन दिनभित्र स्पष्टिकरण माग्दै पत्र काटेका थिए।
खड्काले पठाएको पत्रमा, “संघको म्याण्डेट र विधान विपरीत दीर्घकालीन असर पर्ने कार्य किन, कसको निर्देशनमा गर्नुभएको हो भन्ने विषयमा तीन दिनभित्र स्पष्टीकरण मागिएकोमा जवाफ नआएपछि आजदेखि अर्को कार्यसमिति बैठकसम्मका लागि महासचिव पदबाट निलम्बन गरिएको जानकारी गराउँछु। उक्त अवधिमा सहायक महासचिव दामोदर भट्टराईलाई कार्यवाहक महासचिव तोकिएको छ,” उल्लेख छ।
यसअघि पनि खड्काले ए डिभिजन लिग स्थगित गर्ने विषयमा महासचिव राईसँग स्पष्टिकरण मागेको थिए।
एन्फाको विधानअनुसार महासचिवको नियुक्ति तथा हटाउने अधिकार अध्यक्षसँग मात्र रहेको उल्लेख छ।
हाल अध्यक्ष नेम्बाङ र वरिष्ठ उपाध्यक्ष खड्काबीच मतभेद देखिएको छ। नेम्बाङको नेतृत्वको कार्यशैलीको खड्का खुलेर विरोध गर्दै आएका छन्। तर साढे तीन वर्षअघि सम्पन्न एन्फा निर्वाचनमा भने नेम्बाङ र खड्का एउटै प्यानलबाट विजयी भएका थिए।


