सङ्खुवासभाको पाँचखपन नगरपालिका र चैनपुर नगरपालिका जोड्ने प्रमुख सडक पहिरोका कारण पूर्ण रूपले अवरुद्ध भएको छ। बिहीबारे–भैँसीचोक–पिपलडाँडा सडक खण्डमा लगातार वर्षाले पहिरो गएर आवागमन रोकिन पुगेको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीका अनुसार गएरातिदेखि लगातार वर्षापछि पहिरो झरेर उक्त सडकको करिब १५ मिटर हिस्सा बगाएको छ। चैनपुर र पाँचखपन नगरपालिकाबीचको मुख्य यातायात मार्ग प्रभावित भएको प्रहरी निरीक्षक राजवंशीले बताए।
कल्लेरी क्षेत्रमा चिउङ्खुवा खोलाको बाढीले सडकमा ठूलो क्षति पुर्याएको कारण आवागमन पूर्णरूपमा बन्द भएको प्रहरीका अनुसार तर्फ पाँचखपनको चुङखुरुङतर्फमा समेत ठुलो पहिरो खसेको छ। आज बिहानैदेखि कुनै सवारी साधन सञ्चालन हुन नसकेका छन्।
सडक निर्माण कार्य जारी रहँदा विभिन्न स्थानमा बाढीले क्षति पुर्याएको प्रहरी निरीक्षक राजवंशीले जनाए। कमजोर भिरालो जमिनमा पहिरो झर्नुका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
सडक सुचारु गर्न स्थानीय सरकार, निर्माण कम्पनी र सम्बन्धित निकायबीच समन्वय भइरहेको प्रहरी प्रवक्ताले जानकारी दिए। मौसम अनुकूल भएमा पहिरो हटाएर आजै सडक खुलाउने प्रयासमा सरोकारवाला संस्था जुटिरहेका छन्।


