देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ।
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार, चैत महिनामा मात्र २३ स्थानमा बर्डफ्लु पत्ता लागेको छ भने चैत महिनाअघि यस वर्ष कहीं पनि उक्त रोग देखिएको थिएन।
यस वर्ष बर्डफ्लु पहिलोपटक चैत ६ गते मोरङ जिल्लाको सुन्दरहरैचा तथा उर्लाबारी नगरपालिकामा एकसाथ देखिएको हो। हालसम्म देशभरका पाँच जिल्लामा बर्डफ्लु फैलिएको पुष्टि भएको छ।
डा. दाहालले सुनसरीका १२ स्थान, मोरङका सात स्थान, झापाका दुई स्थान, चितवन र काठमाडौंका एक/एक स्थानमा बर्डफ्लु सङ्क्रमण देखिएपछि सम्बन्धित क्षेत्रमा निगरानी बढाईएको जानकारी दिए। प्रभावित क्षेत्रमा रोग फैलिन नदिन नियन्त्रण गरेका छन्।
विशेषगरी त्रिभुवन विश्वविद्यालय परिसरस्थित कागमा पनि बर्डफ्लु पोजेटिभ भेटिएकाले काठमाडौंमा उच्च सतर्कता अपनाइएको छ भने सुनसरी, झापा र मोरङमा पनि रोगको आशंका फैलिएपछि ती जिल्लामा पशुपन्छी ओसारपसारमा कडाई गरिएको छ।
रोग देखिएका सबै स्थानमा एक लाख चार हजार कुखुरा तथा हाँस नष्ट गरिएको छ। डा. दाहालका अनुसार, सम्बन्धित क्षेत्रमा बर्डफ्लु क्षेत्र घोषणा गरी आकस्मिक रोग अन्वेषण टोली परिचालन गरेर रोगग्रस्त पन्छी नष्ट गर्ने कार्य सम्पन्न भएको छ।
सरकारले बर्डफ्लु देखिएको स्थानमा कुखुरा र हाँस नियन्त्रणपूर्वक नष्ट गर्ने गरेको छ, साथै किसानलाई हाँस र कुखुराको नष्ट हुँदा ७५ प्रतिशत क्षतिपूर्ति दिँदै आएको छ।


