काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चार प्रणालीमा सुधार ल्याउने उद्देश्यले भिडिओसहितको वाकीटकी (सञ्चार सेट)को परीक्षण सुरू गरेको छ। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार परम्परागत वाकीटकीको सट्टामा नवीन प्रविधिको सेट प्रयोगमा ल्याउने तयारी छ, जसको परीक्षण अहिले भइरहेको छ।
परम्परागत वाकीटकीमा आवाज मात्र आदानप्रदान हुने व्यवस्था छ भने नयाँ सेटले वर्तमान आवश्यकता अनुसार बहुकार्य गर्न सक्नेछ। यस आधुनिक सेटबाट फोन तथा तस्बिर-भिडिओ खिच्ने, तत्काल नियन्त्रण कक्षमा पठाउने, जीपीएसमार्फत प्रहरीको लोकेसन पत्ता लगाउने सुविधा उपलब्ध छ। प्रवक्ता सुवेदीका अनुसार उक्त प्रविधिको प्रयोगले ड्युटीमा रहेका प्रहरीको स्थान नियन्त्रण कक्षमै देख्न सकिन्छ, जसले प्रहरीको कार्यक्षेत्र पारदर्शिता र उपस्थितिमा वृद्धि गर्नेछ।
सुवेदीले सडकमा ट्राफिक नियम उल्लंघन तथा मापसे परीक्षणका क्रममा देखिने विवाद व्यवस्थापनमा यो प्रविधि सहयोगी हुने बताएका छन्। “अहिले चालक र ट्राफिक प्रहरीबीच विवाद हुने गर्छ,” उनले भनन्, “नयाँ सेटले प्रमाण सङ्कलनको काम पनि सहज बनाउनेछ। नियम उल्लंघनका प्रमाण सिधै नियन्त्रण कक्षमा पठाउने व्यवस्थासमेत मिलाइएको छ।”
विशेषगरी मापसे परीक्षणमा पारदर्शिता ल्याउने यो प्रविधिले प्रहरी कार्यमा विश्वास बढाउने प्रवक्ता सुवेदीको भनाइ छ। “यदि १० जनामा मापसे पुष्टि भयो तर रिपोर्टमा ५ जना मात्र देखाइएको छ भने बाँकीलाई कुन आधारमा छोडियो भन्ने कुरा प्रणालीबाट तत्काल पत्ता लाग्नेछ,” उनले भने, “यसले अनियमिततामा कारबाहीबाट उम्कन नपाउने र प्रक्रिया पारदर्शी हुने सुनिश्चित गर्दछ।”
यस सेटमार्फत जरिवानाको रसिदमा कारबाही रहेको स्थानको अक्षांश-देशान्तर (ल्याटिच्युड-लङ्गिच्युड), म्याप र जीपीएस नम्बरसमेत अंकित हुनेछ। यसो गर्दा कारबाहीको स्थान स्पष्ट प्रमाणित हुने र स्थानसम्बन्धी कुनै विवाद नहुने प्रहरीको तर्क छ।
हाल यो वाकीटकी सेट परीक्षणको चरणमा रहेको कार्यालयले सफल परिणाम आएपछि थप सेट विस्तार गर्दै काठमाडौँ उपत्यकाबाट देशभर प्रयोग विस्तार गर्ने योजना बनाएको छ। “परीक्षणको परिणाम हेरेर राजधानीमा पहिलो चरणमा विस्तार गर्नेछौं, त्यसपछि अन्य भागमा पनि लैजानेछौं,” प्रवक्ता सुवेदीले बताए।


