टक्सार, भोजपुर — रोजगारको खोजीमा बाह्र वर्षअघि काठमाडौँ पसेका सुजन उदास आफ्नै जन्मभूमि टक्सार फर्किएर व्यवसाय थाल्ने कल्पना उनले कहिल्यै गरेका थिएनन्। जीवनको यात्रा घुम्दै, ‘बाह्र वर्षमा खोलो पनि फर्किन्छ’ भन्ने उखान जस्तै, उदास गाउँ फर्किएर आफ्नो भविष्य आफ्नै थलोमा बुनिरहेका छन्।
काठमाडौँमा दशक लामो बसाइ टुङ्ग्याएका उदास भोजपुर नगरपालिका–१२ को ऐतिहासिक टक्सार बजारमा ‘टक्सार नेवाः घासा’ सञ्चालन गर्दै छन्। उनको होटल स्थानीय तथा नेवारी खानाका स्वाद खोज्ने प्रमुख गन्तव्य बनेको छ।
“पहिले गाउँमा सम्भावना देखिएन, त्यसैले काठमाडौँ गएको थिएँ। तर यहाँ पर्यटकको चहलपहल बढेको देखेपछि आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्ने विश्वास जाग्यो,” उदासले खुशी व्यक्त गरे, “फर्किएकोमा कुनै पछुतो छैन।”
उदासको पुनरागमन अरूका लागि प्रेरणादायी बनेको छ। लामो समयदेखि मानिसको पलायनले सुनसान बनेको टक्सार बजारलाई उनीजस्ता व्यवसायीले पुनः जीवन दिएका छन्। यिनले गाउँलाई नयाँ सन्देश पनि दिएका छन्– शहर नगई गाउँमै सम्भावना खोज्न सकिन्छ।
टक्सार कहिल्यै नेपालमा डोली पैसा उत्पादनको केन्द्रका रूपमा परिचित थियो। जनशक्ति पलायन र सांस्कृतिक घरहरूको जीर्ण अवस्थाले बजारमा चहलपहल घटेको थियो। अब आन्तरिक पर्यटकको बढ्दो आगमनले यस बजारमा नयाँ जीवन फिर्ता भएको उदासको अनुभूति छ, यही भरोसाले उनी फर्किएका हुन्।
स्थानीय विमल रणपहेलीले उदास मात्र हैन, अन्य केही पुराना बसाइँसराइ गर्नेहरू पनि फर्किएर व्यवसायमा लगानी गर्न थालेको बताए। “अब धेरैले फर्कन थालेपछि बजारमा उत्साह बढेको छ। स्थानीय सरकारले अझै राम्रो वातावरण बनाउने हो भने गाउँ फर्किन चाहनालाई सजिलो हुनेछ,” रणपहेलीले जोड दिए।
टक्सारको ऐतिहासिक सम्पदा, मौलिक नेवारी संस्कृति, पारम्परिक परिकार र पुरानो बस्तीले पर्यटक आकषिर्त गर्न थालेका छन्। यसबाट स्थानीय अर्थतन्त्र सक्रिय हुने आशा गरिएको छ।
उदासले पनि गाउँ फर्किएर स्थानीय अर्थतन्त्रमा योगदान दिने लक्ष्य राखेका छन्। “आफ्नो थलोमा काम गर्दा छुट्टै खुसी मिल्छ। टक्सारको पहिचान जोगाउँदै सफल व्यवसाय गर्दै छु भने त्यो मेरै ठूलो उपलब्धि हुनेछ,” उनले बताए।
टक्सार सहर विसं १८७२ मा राजा गीर्वाणयुद्धको पालामा स्थापना भएको हो। बजार ‘मिनी पाटन’को रूपमा समेत पहिचान बनाएको छ। पाटनबाट आएका नेवार जातिले भाषा, धर्म, संस्कृति टक्सारमा भित्र्याएका छन्। नेपालकै पहिलो शाक्यमुनि बौद्ध विहार यहाँ १९९३ सालमा स्थापना भएको थियो। राणा कालमा डोली पैसा टक्सारबाट चल्दा यहाँ मठमन्दिर, विहार, गुम्बा, धारा, पाटीपौवा र मूर्तिहरू निर्माण हुने रणपहेलीले बताए।
पछिल्लो समय ऐतिहासिक टक्सार क्षेत्रमा नयाँ होटल, रेस्टुरेन्ट, क्याफे तथा सांस्कृतिक गतिविधि फस्टाउन थालेका छन्। सम्पदा संरक्षणसँगै स्थानीय व्यवसाय र पर्यटनलाई जोड्न सके टक्सार पूर्वी नेपालको प्रमुख गन्तव्य बन्ने सम्भावना रहने किशोरकुमार ताम्रकारको भनाइ छ।
— रासस


