चालु आर्थिक वर्षका पाँच महिनामा वीरगञ्ज भन्सार कार्यालयले सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट मात्र ३० अर्ब २५ करोड रुपैयाँ उठाएको छ । यो अवधिमा वीरगञ्ज हुँदै ७२ अर्ब २८ करोड रुपैयाँ बराबरको पाँच प्रकारका पेट्रोलियम सामग्री आयात हुँदा कुल राजस्वमा यसको योगदान ३१.३९ प्रतिशत रहेको छ ।
कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगञ्ज भन्सारको राजस्व संकलनको मुख्य स्रोत पेट्रोलियम पदार्थ तथा सवारीसाधनका आयात भएको जानकारी दिए ।
यातायात साधन तथा तिनका पाटपुर्जाको आयातबाट दोस्रो ठूलो राजस्व स्रोतका रूपमा १२ अर्ब ७४ करोड रुपैयाँ संकलन भएको छ, जुन कुल राजस्वको १३.२२ प्रतिशत हो ।
त्यस्तै, फलाम तथा फलामको सामग्रीबाट ५ अर्ब ६५ करोड तथा कपडा आयातबाट ४ अर्ब ८५ करोड राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षका पाँच महिनामा कूल ९६ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ ।


