काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको राजीनामा माग गर्दै संसदमा तीव्र विरोध गरेको छ । राष्ट्रियसभाको मंगलबारको बैठकमा एमाले सचेतक कुमारी मेचेले बालेन शाहको ‘राष्ट्रघाती’ भनाइ अस्वीकार्य भएको उल्लेख गरिन् र यस्ता अभिव्यक्ति गरेका प्रधानमन्त्रीले पदमा बस्न नहुने स्पष्ट गरिन् ।
उनले प्रधानमन्त्रीले आत्मसमर्पणवादी र राष्ट्रविरोधी सोच प्रकट गरेको आरोप लगाउँदै शीघ्र संसदमा आएर जनतासँग माफी माग्न, विवादित अभिव्यक्ति फिर्ता लिन र पदको सम्मान कायम राख्नका लागि तुरुन्त राजीनामा दिनुपर्ने माग गरेकी छन् ।
सचेतक मेचेले यस विषयमा एमालेले निरन्तर संसदमा विरोध जारी राख्ने चेतावनी दिँदै आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले नेपालले भारतको भूमि मिचेको जस्तो अभिव्यक्ति दिएको प्रसंगको उल्लेख गरिन् । सोही अभिव्यक्तिका कारण अहिले उनको तीव्र आलोचना भइरहेको छ ।


