शुक्रबारदेखि देशभरका हलहरूमा प्रदर्शनमा आएको नेपाली चलचित्र ‘रोल नं १’ले दर्शकमाझ चर्चा कमाएको छ। निर्माण पक्षले सोमबार विशेष शो आयोजना गर्दा सहभागी कलाकारहरूले कथावस्तु र प्रस्तुति दुवै असाध्यै प्रभावकारी तथा सन्देशमूलक रहेको प्रतिक्रिया दिएका छन्।
सेभेन सिज सिनेमाको ब्यानरमा बनाइएको उक्त फिल्मको विशेष प्रदर्शनमा निर्देशक तुल्सी घिमिरे, कलाकार जितु नेपाल, कमलमणि नेपाल, मरिचमान श्रेष्ठ, अञ्जना बराइली, नीता ढुगांना, सञ्चिता लुइटेल, गरिमा शर्मा, पञ्चमी घिमिरे र लुनिमा तुलाधारलगायत उपस्थित थिए। सबैले चलचित्रले दिने सान्दर्भिक सन्देश दर्शनीय रहेको बताए।
कलाकार जितु नेपालले चलचित्रका संवाद र विषयको प्रसंसा गर्दै भने, “फिल्मले कक्षाकोठाको नम्बर मात्र जीवनको मुल्यांकनको आधार होइन भन्ने उल्लेखनीय छ। शिक्षालाई सीपसँग जोड्नुपर्ने आजको आवश्यकता फिल्मले बलियो रूपमा उठाएको छ।”
मरिचमान श्रेष्ठले ‘रोल नं १’ लाई पाठ्यपुस्तकसरह गम्भीर विषयवस्तु प्रस्तुत गर्ने सिनेमा बताउँदै, “यो चलचित्रभन्दा एकपटक पढ्नैपर्ने किताबजस्तो छ,” भने।
लुनिमा तुलाधारका अनुसार, यो सिनेमा विशेषगरी अभिभावकले अनिवार्य रूपमा हेर्नुपर्ने खालको छ। उनले भनिन्, “विद्यार्थी मात्र नभइ प्रत्येक आमाबुवाले आफ्ना छोराछोरीको रुचि–क्षमता बुझ्न यो फिल्म हेर्नैपर्छ।”
यस्तै, सञ्चिता लुइँटेलले कथाको लेखन र प्रस्तुतीकरण अतिस्पर्शी रहेको बताउँदै, “फिल्मले किताबी ज्ञानभन्दा व्यावहारिक सीप नै असली शास्त्र हो भन्ने तथ्य प्रदर्शन गर्छ,” भनिन्।
नीता ढुंगानाले चलचित्रले शिक्षाका नाममा बालबालिकामा सृजना हुने अतिरिक्त दबाब सजीव चित्रण गरेको प्रतिक्रिया दिइन्।
जोन योञ्जनद्वारा निर्देशित फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणुनाथ योगी, एवन राज उप्रेती र सिर्जना अधिकारी मुख्य भूमिकामा छन् भने बालकलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठले अभिनय गरेका छन्।
फिल्मका निर्माता विनोद पौडेल र जान्वी पौडेल हुन्। सहनिर्माणमा छत्रमाया गिरी, रमेश चौलागाईं छन्। चलचित्रको कथा महेश दवाडीले लेखेका हुन् भने छायांकन शिवराम श्रेष्ठले गरेका हुन्।


