नागरिकता सम्बन्धी किर्ते आरोपमा पक्राउ परेका वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पर्सा जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएका छन्।
गत मंगलबार अदालतले सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि आज बिहान ९ बजे प्रहरीमार्फत अदालतमा उपस्थित गराइएको थियो। जिल्ला अदालतका न्यायाधीश गायत्री प्रसाद रेग्मीको इजलासमा सिंहको मुद्धामा दिनभर बहस चल्यो। सिंहको तर्फबाट अधिवक्ता प्रमोद गुप्ता, कमल मोहन पोखरेल, अरुण ज्ञवाली, शिव कोइरालालगायतले बहस गरेका थिए भने सरकारी वकिलसहित पाँच जनाले विपक्षमा तर्क प्रस्तुत गरे। स्थानीय लियाकत अलीको जाहेरीको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले नागरिकता सम्बन्धी लिखत किर्ते मुद्दा दर्ता गरेको थियो।
दुवै पक्षको तर्क र सुनुवाइपछि न्यायाधीश रेग्मीले सिंहलाई धरौटीमा छाड्न आदेश दिएका हुन्।


