मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो।
उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको वर्तमान परिस्थितिको गहिरो समीक्षा गरे।
मध्यपूर्वमा व्यवस्था पुनःस्थापना गर्न चीन र पाकिस्तानले पाँचबुँदे रणनीतिक प्रस्ताव अघि सारेका छन्।
पहिलो, द्वन्द्व तत्काल बन्द गर्न दुवै मुलुकले आह्वान गरे। संघर्ष रोक्न, शत्रुता समाप्त गर्न र प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्याउन उनीहरूको जोड छ।
दोस्रो, शान्ति वार्ता छिटो सुरु गर्नुपर्नेमा महत्व दिइएको छ। यसका साथै इरान र खाडी मुलुकहरूको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता, स्वतन्त्रता र सुरक्षा जगेर्नाको पनि पक्षमा चीन तथा पाकिस्तान उभिएका छन्। संवाद र कूटनीतिलाई विवाद समाधानको सबैभन्दा प्रभावकारी माध्यम ठहर गरिएको छ।
तेस्रो, सशस्त्र द्वन्द्वमा नागरिक तथा गैरसैन्य संरचनाको संरक्षण जरुरी छ। दुन्गा मुलुकले नागरिक र गैरसैन्य स्थानमा आक्रमणविरुद्ध अन्तर्राष्ट्रिय मानवीय कानुनको पूर्ण पालना माग गरेका छन्। ऊर्जा, पानी शुद्धीकरण, पावर प्लान्ट र शान्तिपूर्ण आणविक सुविधामा आक्रमण रोक्न आग्रह गरिएको छ।
चौथो, होर्मुज जलडमरूम समेटेको समुद्री मार्गको सुरक्षाबारे उल्लेख छ। अलपत्र भएका जहाज तथा चालक दलको सुरक्षाका साथै नागरिक र व्यवसायिक तर्फका जहाजहरुलाई सुरक्षित मार्ग उपलब्ध गराइ सामान्य यातायात पुनः सुरु गर्न दुवै देशले आह्वान गरेका छन्।
पाँचौं, संयुक्त राष्ट्रसंघको भूमिकालाई थप मजबुत बनाउन र बहुपक्षीयतालाई प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय कानुन तथा संयुक्त राष्ट्रसंघको सिद्धान्तमा आधारित दीर्घकालीन शान्तिका लागि व्यापक सम्झौतामा समर्थन जनाउन चीन र पाकिस्तानले आग्रह गरेका छन्।


