प्रभात यादव
वीरगञ्ज, २१ चैत्र ।
सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर पछिल्लो समय सरकार गठनसँगै सार्वजनिक सेवामा सुधार देखिन थालेको छ । सुशासन र प्रभावकारी कामको विषयमा देशभर बहस चलिरहँदा स्थानीय तहका सरकारी निकायहरूमा पनि सकारात्मक परिवर्तन देखिन थालेको हो ।
पहिले ढिला र अस्तव्यस्त रूपमा सञ्चालन हुँदै आएका कार्यालयहरू अहिले क्रमशः जिम्मेवार र सक्रिय बन्दै गएका छन् । यसले सेवाग्राहीलाई सहज र छिटो सेवा पाउन मद्दत पुगेको छ । कर्मचारीको व्यवहार र कार्यशैलीमा आएको परिवर्तनले सर्वसाधारणमा पनि सन्तुष्टि बढ्दै गएको छ ।
यस्तै उदाहरण पर्साको नारायणी अस्पताल, वीरगञ्जमा शनिबार देखिएको छ । अस्पतालका स्टोर इन्चार्ज कमलेश सहनी विदाको दिनमा समेत आफ्नो जिम्मेवारीमा खटिएका थिए । उनी कामको चापका कारण अस्पतालमै रहेर सेवा प्रवाहमा सक्रिय देखिएका हुन् ।
व्यस्त कार्यतालिकाका बीच उनले वीरगञ्ज समाज सेवाले सञ्चालन गरेको निःशुल्क भोजन कार्यक्रमबाट खाना खाएरै कामलाई निरन्तरता दिएका थिए । विदाको दिनमा पनि कर्मचारी उपस्थित भएर सेवा प्रभावकारी बनाउने प्रयासले सेवाप्रतिको प्रतिबद्धता झल्काएको छ ।
यस घटनाले सरकारी कर्मचारीले आफ्नो जिम्मेवारीप्रति इमान्दार भई काम गरेमा सेवाग्राहीलाई कस्तो सकारात्मक प्रभाव पर्न सक्छ भन्ने स्पष्ट देखाएको छ ।


