सोमबार राति कतारविरुद्ध नेपालको महत्वपूर्ण जितमा योगदान पुर्याएपछि पूर्वकप्तान सन्दीप लामिछानेले आफ्ना समर्थकहरूलाई हार्दिक धन्यवाद दिएका छन्। खेलपछि उनले देशको समृद्धि र खेलकुदको प्रगतिको कामना गरेका छन्।
खेलपछिको कुराकानीमा सन्दीपले भने, “समर्थकहरूले देखाएको माया र विश्वासले मलाई थप हौसला दिएको छ। नेपाल क्रिकेटलाई निरन्तर सहयोग गरौं। मेरो व्यक्तिगत भन्दा पनि देशको हित मेरो पहिलो प्राथमिकता हो। हामी सबैले नेपालीपन र भाइचारा बढाएर देशलाई प्रगतिको बाटोमा लैजानुपर्छ।”
उनले खेलमा सबै खेलाडीको योगदान बराबर महत्वपूर्ण रहेको भन्दै जित सबैको साझा उपलब्धि भएको बताए। कतारविरुद्ध अन्तिम बलमा विकेट किपर आशिफ शेखको योगदानलाई पनि उनले विशेष प्रशंसा गरे। सन्दीपले आफ्नो भूमिकामा खुसी व्यक्त गर्दै आगामी चुनौतीहरूमा पनि नेपाली टिमले उत्कृष्ट प्रदर्शन गर्ने आशा व्यक्त गरे।