नेपालका दुर्गम पहाडी र हिमाली क्षेत्रमा सडक सुविधाको अभाव, एम्बुलेन्स सञ्चालन गर्न नसकिने कठिनाइ र अस्पताल पुग्न दिनौं लाग्ने अवस्थाबीच नेपाली सेनाको हेलिकप्टर आकस्मिक उद्धारको भरपर्दो साधन बनेको छ। गर्भवती तथा सुत्केरी महिलाका लागि यो सेवा धेरै जिल्लामा जीवन जोगाउने विकल्पका रूपमा स्थापित भएको छ।
गत असोज २१ गते भोजपुरको रामप्रसादराई गाउँपालिका–१ ओख्रेकी ३९ वर्षीया सुत्केरी निर्मला राई र उनका नवजात शिशुलाई रातभरको बर्षाले सडक अवरुद्ध भइरहेको बेला नेपाली सेनाले हेलिकप्टरमार्फत धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्यायो। स्थलमार्ग ठप्प भएका कारण यी महिला र शिशुको जीवनरक्षा सम्भव भएको यो घटनाले सेनाको उद्धार मिसनको प्रेरक भूमिका देखाएको छ।
निर्मलाका पति अनुपकुमार राई भन्छन्, “असोजमा निरन्तर पानी, बाटो भत्किएको अवस्था, छिटो बच्चा जन्मिएपछि सास्ती छुटाउने कुनै उपाय थिएन।” सेनाको हेलिकप्टरले आमा–छोरालाई समयमै अस्पताल पुर्याएपछि उनीहरूको स्वास्थ्यमा सुधार आयो र १३ दिनको उपचारपछि परिवार घर फर्कियो। उहाँको अनुभवमा नेपाली सेना, स्थानीय स्वास्थ्यकर्मी र प्रशासन संकटको घडीमा भगवान सरह बनेका थिए।
सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले दुर्गम र पहुँचविहीन भेगमा गर्भवती र सुत्केरीलाई उद्धार गर्ने कार्य नियमित रुपमा राष्ट्रपति महिला उत्थान कार्यक्रममा समावेश भएको बताए। सेनाले सम्बन्धित मन्त्रालय, स्थानीय प्रशासन र स्वास्थ्यसंस्थासँग सहकार्य गरी जोखिममा परेकालाई अस्पताल पुर्याएको छ। यसबाट मातृसुरक्षा र नवजातको जीवन रक्षा सुनिश्चित भएको छ।
भोजपुरको घटना अपवाद नभएर देशभरि दुर्गम पहाडी जिल्लामा सेनाले यस्ता उद्धार नियमित गरिरहेको छ। सडकीय पहुँच अभाव, स्वास्थ्य सेवा कमजोर र विशेषज्ञजनको नपुगेका कारण सेनाको हेलिकप्टर नै अन्तिम विकल्प हुने गरेको छ। केही वर्षमा सयौं गर्भवती र सुत्केरीलाई समयमै अस्पताल पुर्याउन सेनाले सक्रियता देखाएको छ। यसले राज्यको उपस्थिति, भरोसा र मानवीय जिम्मेवारी गाउँगाउँमा पुर्याएको छ।
दुर्गम पर्वतीय बस्तीमा सेनाको हेलिकप्टर आज पनि जीवनको देवदूत बनेर सक्रिय छ। पछिल्लो तीन वर्षमा मात्र हेलिकप्टरबाट ३१६ गर्भवती तथा सुत्केरीको उद्धार भएको छ—जसमध्ये आर्थिक वर्ष २०८०÷८१ मा १३९, २०८१÷८२ मा १३८ र चालु वर्ष मङ्सिरसम्म ३९ जना छन्। प्रवक्ता बस्नेतका अनुसार भौगोलिक विकटता र सडकीय सुविधा नभएको हिमाली र पहाडी जिल्लामा आकस्मिक उद्धारले मातृ र शिशु मृत्यु न्यूनीकरणमा निर्णायक प्रभाव पारेको छ।
सुत्केरी तथा गर्भवतीको आकस्मिक राहतका लागि सुर्खेतस्थित पश्चिम एयरवेसमा स्ट्यान्डबाई हेलिकप्टर तथा विमान राखिएको छ, जसले जाजरकोट, हुम्ला, जुम्लाजस्ता सुदूरपश्चिमका जिल्लामा जीवनरक्षा सहज बनाएको छ। खासगरी कोशी प्रदेशका खाँदबारी, सङ्खुवासभा तथा सोलुखुम्बुबाट हेलिकप्टर उद्धार संख्या उच्च छ, कारण यहाँ भौगोलिक कठिनाइ र स्वास्थ्यसेवा सीमित छन्।
नेपाली सेनाको तथ्याङ्कअनुसार ओखलढुङ्गाबाट गत वर्ष ३८, गत आर्थिक वर्ष २१ तथा चालु वर्ष २ जनाको हवाई उद्धार भएको छ। सङ्खुवासभाबाट १२, १४ र २ जना तथा सोलुखुम्बुबाट ७, ४ र ३ जना गर्भवती–सुत्केरी महिलाको सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको छ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सञ्चालनमा आएको सुत्केरी महिला हेलिकप्टर उद्धारमा सङ्खुवासभामा सेनाको काम थप प्रभावकारी देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी रोशन श्रेष्ठले बताए। “समयमै जटिल अवस्थाका गर्भवती–सुत्केरीको उद्धारले अकाल मृत्युको जोखिमलाई न्यून पार्न सफल भएको छ,” श्रेष्ठले जानकारी दिए। समयमै एयर उद्धार भएकै कारण मातृ तथा नवजात मृत्यु दरमा उल्लेख्य सुधार आएको देखिन्छ।
उद्धार गरिएका महिलाका केसमा लामो प्रसव बेथा, बच्चा जन्माउन कठिनाइ, गर्भमै शिशुको मृत्यु, शरिर अत्यधिक सुन्निने, अत्यधिक रक्तस्राव तथा गम्भीर रक्तअल्पता जस्ता समस्या देखिएका छन्। स्थानीय तहले जोखिमको सूचना दिएकोपछि मन्त्रालयमार्फत सेनाको हेलिकप्टर परिचालन हुने गर्छ।
सङ्खुवासभाका टाढाका गाउँमा प्रसूति शल्यक्रिया सेवा नहुनाले गम्भीर अवस्था आएका गर्भवतीहरूको उपचार सम्भव छैन। विशेषज्ञ चिकित्सक, पूर्वाधार र उपकरण अभाव यहाँका महिलाका लागि थप जोखिम बनेका छन्। सेनाले उपलब्ध गराएको तथ्याङ्कमा ओखलढुङ्गा, सङ्खुवासभा र सोलुखुम्बुमा गर्भवती–सुत्केरी महिलाको हवाई उद्धार बढी भएको छ। दुर्गम भूगोल, सडकको अभाव र सीमित प्रसूति सेवाले यस्ता जिल्लामा हेलिकप्टर सेवाको आवश्यकता बढाएको जनाइन्छ।
सरकारले राष्ट्रपति महिला उत्थान अभियानअन्तर्गत नेपाली सेनाको सहकार्यमा जोखिममा परेकी गर्भवती र सुत्केरी महिलालाई समयमै अस्पताल पुर्याउने व्यवस्था गरेको छ। लामो प्रसव बेथा, बच्चा जन्मन कठिनाइ, गर्भमा शिशुको मृत्यु वा सुत्केरीपश्चात् रक्तस्रावका केसमा यो सेवा अत्यन्त फलदायी सावित भएको छ। दुर्गम जिल्लाका महिलालाई यसबाट न केवल जीवनरक्षा भएको छ, राज्यको उपस्थिति गाउँसम्म महसुस हुने र स्वास्थ्य सेवा प्रतिको भरोसा बढाएको छ।
सैनिक प्रवक्ता बस्नेतले जहाँ आवश्यकता देखिन्छ, सम्बन्धित निकायसँग समन्वय गरी हेलिकप्टर परिचालन हुने बताए। मौसम, भौगोलिक उचाइ र सुरक्षाको ख्याल गर्दै चिकित्सा तालिमप्राप्त सैनिकलाई प्राथमिकता दिएर उद्धार टोली बनाइन्छ।
यसरी दुर्गम भूगोल, कमजोर पूर्वाधार र सीमित स्वास्थ्य सेवाबीच जान जोखिममा परेका गर्भवती–सुत्केरीका लागि राष्ट्रपति महिला उत्थानअन्तर्गत सेनाको हेलिकप्टर कार्यक्रम सन्देहविन आशाको माध्यम बनेको छ। समयमै समन्वय, योग्य जनशक्ति र क्षमतायुक्त हेलिकप्टर परिचालनले आकस्मिक अवस्था सफल व्यवस्थापन हुने गरेको छ। परिणामस्वरूप सुरक्षा, भरोसा तथा राज्यको मानवता गाउँगाउँसम्म महसुस हुने गरेको छ। जीवनको अति संवेदनशील घडीमा नेपाली सेनाको सक्रियता मातृ तथा नवजात शिशु सुरक्षाको प्रेरक मिसाल बनेको छ।


