कतारले आफ्नो राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर जेलमा रहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। दुई देशबीचको कूटनीतिक तथा मानवीय सम्बन्ध सुदृढ हुँदै गएको संकेतका रूपमा यो निर्णयलाई नेपाल सरकारले अर्थ्याएको छ।
परराष्ट्र मन्त्रालयले सार्वजनिक विज्ञप्तिमार्फत कतारको अमिरी आममाफीप्रति औपचारिक धन्यवाद प्रकट गर्दै सो उदारताका लागि आभार व्यक्त गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा नेपाली कैदीलाई दिइएको आममाफीले दुई देशबीचको मित्रता तथा मानवीय भावना झल्काएको छ।”
नेपाल सरकारले यस क्षमादानलाई मानविय चासोमा आधारित दयालु निर्णयका रूपमा प्रशंसा गर्दै यसले नेपाल–कतार सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेको छ।
यो आममाफीको निर्णय नेपालले कतारलाई दुईवटा हात्ती उपहार दिएको पछिल्लो घटनापछि आएको हो, जसलाई दुई देशबीचको मैत्री सम्बन्धका रूपमा हेर्ने गरिएको छ।
कतार नेपाली श्रमिकको ठूलो रोजगारी गन्तव्य हो। हाल करिब ५ लाख नेपाली कतारमा कार्यरत छन् भने गत वर्ष मात्रै १ लाख ४० हजारभन्दा बढी नेपाली त्यहाँ रोजगारीका लागि पुगेका थिए।
कतार सरकारले देखाएको यस कदमलाई विदेशी भूमिमा रहेका नेपालीका लागि सकारात्मक सन्देशका रूपमा हेरिएको छ।


