कर्णाली प्रदेशकी अग्रणी महिला अमृता कठायत बस्नेतको जीवनी समेटिएको पुस्तक ‘कर्णालीकी छोरी’ हालै सार्वजनिक भएको छ। यस कृतिले अमृताको व्यक्तिगत यात्रा मात्र होइन, समग्र कर्णालीको सामाजिक, सांस्कृतिक र भौगोलिक यथार्थलाई प्रस्तुत गरेको छ। ४६ भागमा विभाजन गरिएको पुस्तकमा जुम्लाको भौगोलिक विशिष्टता, स्थानीय प्राकृतिक छटा, खस सभ्यताको कथा, जातजाति, संस्कृति, हस्तकला, धार्मिक मठमन्दिरदेखि भेषभूषासम्म विस्तारपूर्वक वर्णन गरिएको छ। पुस्तकका प्रसंगहरूले पाठकलाई साक्षात् जुम्ला पुगेको अनुभूति दिलाउँछन्।
वि.सं. २०११ मा जन्मेकी अमृताले आफूभन्दा पहिलाका ऐतिहासिक घटनासमेत पुस्तकमा समेटेकी छन्। जुम्लामा पहिलोपटक हवाईजहाज देखिएको, प्रजातन्त्र स्थापित भएको सूचना पर्चाद्वारा फैलाइएको लगायतका कथा संग्रहित छन्। राणाशासनको अन्त्यसँगै भएको सामाजिक परिवर्तनका समृद्ध तस्वीरहरू पुस्तकमा रोचक ढंगमा प्रस्तुत छन्।
बहुविवाह प्रचलनबारे लेखिकाले खुलेर चर्चा गरेकी छन्। उनका पिता तीन श्रीमती र १५ सन्तानका पिता थिए। पुरानो घरमा संयुक्त परिवार र स-साना कोठाहरूमा बस्ने जीवन, स्मृतिमा रहेका कठिन क्षणहरू पनि पुस्तकमा उल्लेख छन्। संयुक्त परिवारको रहनसहन र चुनौतीहरू उनका बाल्यकालका सम्झनामा छर्लङ्ग देखिन्छ।
परिवारमा काम गर्ने केटा ‘होलिकप्टर’ भनिन्थे, बिहान ४ बजे पानी छ्यापेर कोठा–कोठामा उठाउने र एकैसाथ चारवटा रोटी पकाइने, ७० जनाको एउटै आँगनमा जीवन अगाडी बढ्ने प्रसंगले संयुक्त परिवारको जटिलता उजागर गर्छ।
त्यसै गरी छोरीका लागि शिक्षा निषेध गर्ने समयमा अमृताका दिदीबहिनीहरूले विपरीत धार समाजलाई चुनौती दिँदै पढ्न सफल भएको उल्लेख छ। छोरीको पढाइले पितालाई गाउँलेको आलोचना भोग्नुपरेको कथा भावुक ढंगमा प्रस्तुत गरिएको छ।
शिक्षाको अवसर सीमित हुँदा अंग्रेजीमा कमजोर भए पनि अमृताले एसएलसी उत्तीर्ण गरिन। कलेजमा कठिनाइ भोगेपछि जुम्लामा पहिलो अंग्रेजी बोर्डिङ स्कुल खोल्नुपरेको आवश्यकताबारे पुस्तकले सन्देश दिन्छ।
प्रौढ कक्षा सञ्चालनका बेला भाषणमा डरले गर्दा सभा अचानक विसर्जन भएको र अरुले हाँसेको प्रसंग हास्यरसले भरिएको छ। शिक्षक जीवनमा काठमाडौँ पुग्दा पहिलोपटक एकैपटक वर्षभरको तलब पाएको अनुभव, मासिक तलब र बजार दरको तुलनाले समयको अवस्था प्रष्ट्याएको छ।
काठमाडौँका न्यूरोडमा इन्द्रकुमार बस्नेतसँग पहिलो भेट, पत्र आदानप्रदान, विवाहको प्रसंग तथा पसलको बिना उपस्थित दुवै पिताको उल्लेखले पारिवारिक र सामाजिक परिवेशको चित्रण गरेको छ।
कर्णालीबाट पूर्व मेचीसम्म बुहारीको जीवन, नयाँ संस्कृति र परिवेशमा झेलिएको संघर्ष र रोमाञ्च पूर्णरूपमा प्रस्तुत छ। सुत्केरी अवस्थामा परीक्षाको पीडा, अंग्रेजी विषयमा कठिनाइले परीक्षामा नेपालीमै पीडा पोखेर पास हुनु भएका प्रसंग निकै मार्मिक छन्।
जुम्लाबाट काठमाडौं आउँदाको यात्रामा रजश्वलाको धार्मिक विश्वासका कारण तीन दिन पर्खन चाहिँदा श्रीमान् मानेनन्, फलस्वरुप प्लेन दुर्घटनामा परे पनि भाग्यशाली रूपमा बचिएको अमृताको जीवन उतारचढावले भरिएको छ। खेतीपाती, गाईपालन र काठमाडौँमा जग्गा किनेर घर बनाएको प्रसंगले किसानी जीवनप्रति आकर्षण देखाएको छ।
पुस्तकमा जुम्लाको हिमाली जीवनदेखि झापाको मधेसी तथा काठमाडौंको शहरी जीवनसम्मका चुनौती र अवसर समेटिएका छन्। गैरसरकारी संस्थामा काम, राजीनामा गरेर निर्वाचनमा प्रतिस्पर्धा, असफलता र सिकाइका अनुभव तथा सहकारीमा गर्विला दिनहरू उल्लेखनीय छन्।
अन्तर्राष्ट्रिय क्षेत्रमा सन् १९९५ मा संयुक्त राष्ट्रसंघको बेइजिङ बैठकमा सहभागिताको अनुभवले महिलाको सशक्तिकरणबारे गहकिलो पक्ष उजागर गरेको छ।
मृगौलाको समस्याबाट स्वास्थ्य जटिलता, बैंकक र दिल्लीका अस्पतालमा उपचार, पेटबाट दुई बाल्टिन पानी निकालिएको विवरणले पाठकलाई झस्काउँछ। मृत्युको नजिकको सपना र त्यहाँ बितेका आत्मासँग संवाद, सपनाबाट फर्किएर पुनर्जीवनको प्रेरणा मार्मिक छ। जीवित रहनु स्वयं भाग्य ठानिन्छ।
जुम्लाबाट एसएलसी गर्ने पहिलो महिला, पहिलो बोर्डिङ स्कुल र वृद्धाश्रम निर्माण, जेलमा पुस्तक वितरणदेखि पुस्तकालय स्थापनामा अनुपम योगदान पुर्याएका अमृताले अभिभावक र शिक्षकको भूमिकाबारे महत्वपूर्ण विचार राखेकी छन्।
आध्यात्मिक अनुभूति, सपना र आन्तरिक ज्ञानका प्रसंगहरू पुस्तकमा छर्लङ्ग छन्। ‘फूलको आँखामा’ पढेर जीवनमा आशा जागेको उल्लेख प्रेरणादायी छ। अतृप्त आत्मा र टुँडिखेल सप्ताहका रहस्यमय कथाहरू पनि पुस्तकमा आकर्षक छन्।
उतार–चढाव, सुखदुःखले भरिएको यस कृतिले पाठकमा प्रेरणा, साहस र ऊर्जा दिन्छ। अर्जुन ढुंगानाको सम्पादन तथा लेखन कुञ्ज, घोस्ट राइटिङ नेपालद्वारा प्रकाशित यो पुस्तकको मूल्य ४५० रुपैयाँ तोकिएको छ। अन्त्यमा समेटिएको चार दर्जन रंगीन तस्वीरले पुस्तकको आकर्षण थपेको छ।


