गुल्मी जिल्लाको मालिका गाउँपालिकामा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। राम्चेबाट विद्यार्थी लिएर वनभोजका लागि मदानेतर्फ गइरहेको सिद्ध इङ्लिस बोर्डिङ स्कुलको बस (लु प्र ०१–००ख०३५५) ले विपरीत दिशा हुँदै आइरहेको मोटरसाइकल (लु९प ८१५०) लाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारूले जानकारी दिए।
ठक्करका कारण मोटरसाइकलमा सवार मालिका गाउँपालिका–६ मौवाका ३६ वर्षीय वसन्त अर्याल तथा उनकी भाउजू ५६ वर्षीया मनकला अर्यालको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
दुर्घटनामा अन्य चार जना घाइते भएका छन्। घाइते मध्ये दुई जनालाई गुल्मी अस्पताल तम्घास पुर्याइएका थिए, जहाँ चिकित्सकद्वारा मृत घोषणा गरियो।
घटनामा मृत्यु भएकी मनकलाका नाति ६ वर्षीय अनुभव गिरी तथा पैदल हिँडिरहेकी मालिका–६ राम्चेकी ४१ वर्षीया शिक्षिका लिलावती अर्याल घाइते भएका छन्। गिरीको थप उपचारका लागि पाल्पामा रेफर गरिएको छ भने शिक्षिका अर्यालको गुल्मी अस्पतालमा उपचार भइरहेको छ।


