ढोरपाटनको उपत्यका प्रकृतिको अनुपम संगीत र चित्रको मिसावट बनेको छ । यहाँ बग्ने खोलाको कलकल, चिरबिर गर्ने चराहरू, सुसारिने हावाको मिठास र मान्छेको चलहल उनीहरूको आफ्नै संसार बोकेको देखिन्छ । दृश्य र आवाजले सजीव बनाएको यो भूगोल कलाकारको क्यानभास जस्तै देखिन्छ ।
चारैतिर उभिएका अग्ला पहाडले घेरेको फराकिलो भूमिमा उत्तरगंगा नदी बगिरहेको छ । कतै बाक्लो जंगल, कतै रमणीय गाउँले बस्तीले यो उपत्यकालाई थप आकर्षक बनाएको छ ।
ढोरपाटन बर्खामा हरियाली र रङ्गीचङ्गी फूलले ढाकिएको हुन्छ भने हिउँदमा सेता हिउँको टोपीले ढाकिन्छ । प्रत्येक मौसममा यो उपत्यका आफ्नो सौन्दर्यमा थप निखार ल्याउँछ ।
यस क्षेत्रको अनौठो प्रकृति र रमणीयता शब्दमा बयान गर्न गाह्रो छ । खोलाको कलकल, चराको चिरबिर, हावाको सुस्केरा र मान्छेको चहलपहलले यो ठाउँलाई अद्वितीय बनाएको छ । दृश्यमा उतार्न मुस्किल पर्ने सौन्दर्य बोकेको ढोरपाटन मनमा अमिट छाप छोड्छ ।
नेपालकै एकमात्र सिकार आरक्षका रूपमा परिचित ढोरपाटन राष्ट्रिय निकुञ्ज २०४४ सालमा स्थापना भएको हो । १३ सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो आरक्षमा सिकारका लागि विदेशी पाहुना आउँछन् भने आन्तरिक पर्यटक प्राकृतिक सुन्दरता अवलोकन गर्न पुग्छन् ।
स्थानीय ज्येष्ठ नागरिक जंगबहादुर अदै अनुसार पहिले ढोरपाटन गोठालाहरूको विश्राम स्थल थियो । पछिल्लो दशकमा गोठहरू घरमा परिणत हुँदै गाउँ विस्तार भएको छ । स्थानीयहरू विकास, परिवर्तन र यहाँको बढ्दो मानवीय गतिविधि देखेर उत्साहित छन् ।
अर्का स्थानीय धनबहादुर अदै भन्छन्, पहिले जनैपूर्णिमामा मात्र मेला भर्न पुग्ने भक्तजन अहिले घुम्न आउने पर्यटकहरूको भीड देख्न पाउँदा खुसी लाग्छ । ढोरपाटन सिकार आरक्ष कार्यालयका तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ मा १५ हजार ५ सय ५३ पर्यटकले भ्रमण गरे । २०८१/८२ मा यो संख्या बढेर २३ हजार ६ सय ९२ पुगेको छ । चालु वर्षको साउन–भदौमा मात्रै ६ हजार २ सय ८५ पर्यटक आएका छन् ।
संरक्षण अधिकृत पशुपति अधिकारीका अनुसार यो तथ्यांक देउराली चेकपोस्टको मात्रै हो । अन्य नाकाबाट विशेषगरी रुकुमपूर्वबाट आउने पर्यटकको तथ्यांक समेटिएको छैन ।
पोखराबाट ढोरपाटन घुम्न पुगेका अजय थापाले बुर्तिबाङदेखि ढोरपाटनसम्मको कच्ची सडक र सार्वजनिक सवारी असुविधाजनक भएको बताए । उनले भने, ‘सडक र सवारीमा समस्या भए पनि यहाँको प्राकृतिक सौन्दर्यले सबै पीडा बिर्साउँछ ।’
पर्यटनकर्मी सिर्जना सिज्जुले बढ्दो पर्यटकका कारण ढोरपाटनसम्मको सडक सुधार र भ्रमणका लागि स्पष्ट गाइडलाइन आवश्यक रहेको बताइन् । ‘पर्यटकलाई घुमाउन गाइड तथा रुचिअनुसारको वातावरण तयार गर्नुपर्छ,’ उनको भनाइ छ ।
ढोरपाटनमा होटल र होमस्टेहरूको संख्या हरेक वर्ष बढ्दो छ । स्थानीय व्यवसायी जीवन पुनका अनुसार हाल ३५ होटल/होमस्टे सञ्चालन छन्, जसले एकैपटक ५–७ सय पर्यटकलाई सेवा दिन सक्छन् । माग अनुसार सेवा विस्तार भइरहेको छ ।
यहाँ पुग्न सबैभन्दा सहज मार्ग काठमाडौं–पोखरा–बुर्तिबाङ हुँदै ३–४ घण्टाको कच्ची सडक पार गरेर हो । पदयात्राका लागि म्याग्दीको बेनी बजार, गुर्जाखानी, जलजला अनि पश्चिमबाट रुकुमपूर्वको तकसेरा–निसेलढोर मार्ग रोज्न सकिन्छ ।
त्यस्तै, उत्तरबाट दुई दिनको पदयात्रा गर्दै रुकुमपूर्वका हुकाम, पेल्मा, ठाकुर हुँदै फागुणे धुरीबाट पनि ढोरपाटन पुग्न सकिन्छ । सडक सञ्जाल विस्तार भइरहे पनि अपेक्षित गति लिन सकेको छैन ।
यहाँ घुम्न ठूलो खर्च पर्दैन । पर्यटन व्यवसायी रमिता पुन मगरका अनुसार ३–४ दिनको भ्रमणमा प्रतिदिन १५ सयदेखि २ हजार रुपैयाँ जति खर्च हुने अनुमान छ ।
ढोरपाटन वर्षभर घुम्न सकिने गन्तव्य हो । बर्खा याममा यहाँको दृश्यावली अझ मनमोहक हुन्छ । यहाँबाट रुकुमपूर्वका रमणीय पाटन हुँदै डोल्पासम्मको रोमाञ्चक यात्रा गर्न सकिन्छ, तर मौसम र मार्गको जानकारी लिएर मात्रै यात्रा गर्नु उपयुक्त हुन्छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार ढोरपाटनमा २३ प्रजातिका स्तनधारी जनावर र १ सय ६४ प्रजातिका चराहरू पाइन्छन् । यहाँ नाउर, झारल, थार, हिमाली भालु, डाँफे, मुनाल, चिर जस्ता दुर्लभ वन्यजन्तु र चराहरुको बासस्थान हो ।
प्रत्येक वर्ष चैत–वैशाख र असोज–कात्तिकमा सिकार गर्न पाउने व्यवस्था छ । विदेशीलाई मात्र सिकार अनुमतिपत्र दिने कानुनी प्रावधान छ । पोखरा, मनाङ–मुस्ताङका पर्यटकलाई ढोरपाटन उपयुक्त गन्तव्य हो । पर्यटन व्यवसायी रमिता पुन मगरका अनुसार यस क्षेत्रको विकास, प्रचारप्रसार र पर्यटक मैत्री पूर्वाधार निर्माणको जिम्मेवारी राज्यले लिनुपर्छ । सिकार आरक्ष भएकाले निकुञ्जको ध्यान सिकारीतर्फ मात्र सीमित नराखी पर्यटकलाई लक्षित कार्यक्रम विस्तार गर्नुपर्ने उनको सुझाव छ ।


