सन् २०२४ डिसेम्बर ३० मा रिलिज भएको ‘दुश्मन हेरेको हेर्यै’ एक वर्षमै युट्युबमा झन्डै १५ करोड पटक हेरिएको छ।
दुर्गेश थापाले प्रस्तुत गरेको यो गीतले सन् २०२५ सकिन लाग्दा वैश्विक ट्रेन्डिङमा प्रवेश गर्दै १४ करोड ९५ लाख ५४ हजार पटकभन्दा बढी दर्शकको ध्यान तानेको छ। यससँगै उक्त गीत सन् २०२५ को सबभन्दा लोकप्रिय नेपाली गीत बन्न सफल भएको छ।
गीतका शब्द, संगीत दुर्गेश थापाकै हुन् भने उनको स्वरलाई समीक्षा अधिकारी, एलिना चौहान र आनन्द कार्कीले साथ दिएका छन्। सामाजिक सञ्जाल टिकटक र रिल्समा समेत यो गीत अत्यधिक चर्चित रह्यो। गीतको लोकप्रियतापछि दुर्गेश थापा देश तथा विदेशका स्टेज कार्यक्रममा व्यस्त छन्।
‘दुश्मन हेरेको हेर्यै’ को भिडियोमा दुर्गेश थापासँगै प्रियंका कार्की, कविता नेपाली, पेमा लामा, सहदेव श्रेष्ठलगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ।


