नेपालगञ्ज–गुलरिया सडकखण्डअन्तर्गत बाँकेको खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा चार लेनको आधुनिक पक्की पुलको निर्माण कार्य अघि बढाइएको छ। करिब ६० वर्षअघि बनेको साँघुरो र जीर्ण पुलको सट्टामा नयाँ पुल निर्माण थालिएको हो।
हुलाकी राजमार्ग निर्देशनालय, नेपालगञ्जका सूचना अधिकारी कृष्ण पाण्डेका अनुसार, कुल लागत ८ करोड ९६ लाख ३ हजार ४६८ रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता गरिएको छ। आगामी वैशाखसम्म पुल निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सम्झौता भएको छ।
पुलको एक भाग नबनिसकेसम्म पुरानो पुल कायम राखी एकतर्फी सवारी सञ्चालन गरिने पाण्डेले जानकारी दिए। चार लेनको पुल बन्नुले बर्खायाममा बाँके र बर्दियाका यात्रुहरुलाई सहज आवागमन हुने अपेक्षा गरिएको छ।


