काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने विषयबाट नेपाली कांग्रेस र नेकपा एमाले पछि हट्ने विश्वास गरेका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले उपसभामुख हटाउने विषयमा कांग्रेस र एमाले नै पछि हट्ने विश्वास व्यक्त गरेका हुन् ।
केही कुरा नजानेर त्रुटि गर्दा उपसभामुखलाई हटाउन नहुनेमा आफू दृढ रहेको उनले बताए । ‘उपसभामुख एउटा इमान्दार, जनजाति महिला, बालबच्चाको लागि ख्याति प्राप्त हुनुहुन्छ । उहाँले टेक्निकल्ली केही कुरा नजानेर त्रुटि गर्नुभयो । त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानु हुँदैन भन्नेमा हामी दृढ छौं । सायद उहाँलाई हटाउने कुराबाट कांग्रेस एमाले नै पछि हट्छन् जस्तो लागेको छ ,’ प्रचण्डले भने
‘हिंसा’ शब्दको विषयमा सदनमा भएको बहस नटुंगिएसम्म संसद् चल्न नदिने उनले दोहोर्याए । ‘योगेश भट्टराईले जनयुद्धलाई ‘हिंसा’ भनेर अपभ्रस गर्ने, अपव्याख्या गर्ने र भ्रम छर्ने काम भइरहेको छ । त्यो विषयको सम्बोधन नभएसम्म संसद्मा विरोध जारी रहन्छ,’ उनले भने ।


