झ्यालबाट आउने चिसो बतासले मनमा शान्ति ल्याइरहेको बेला फोनको घन्टी लगातार बज्छ। आश्चर्य लागेर हेर्दा, विराटनगरबाट आमाको फोन रहेछ। “बाहिर ननिस्की नानी, भिडमा के हुन्छ भन्ने थाहा छैन। भिड अन्धो हुन्छ, त्रासलाग्दो अवस्था आउन सक्छ,” आमाको मायालु सल्लाहले मनमा आनन्द फैलिन्छ। “हुन्छ आमा, चिन्ता नगर्नु, म बाहिर निस्कदिन,” भन्दै आमाको माया टाढाबाटै महसुस गर्छु।
म आमासँग कुरा गरिरहँदा अचानक भान्सामा दूध पोखिएको पत्तो पाउँछु। ढोकाबाट दिदी दिदी भन्दै आवाज आउँछ। “आमा, एकछिन है!” भन्दै फोन राख्छु र बाहिर निस्कन्छु। तल कोठामा बस्ने नानीहरू कलेजबाट छिटो फर्किएको देखेर जिस्काउँछु, “कलेजबाट छिटो आयौ कि आन्दोलनमा जान भाग्यौ?” उनीहरू उज्यालो अनुहारमा हाँसो छर्दै जवाफ दिन्छन्।
“हामीसँग हिँड्नु न, दिदी,” भन्छन् उनीहरू मेरो हात समाउँदै। म दूध पुछ्दै, “के नचाइदो कुरा गर्छन् यिनीहरू,” भन्छु। साथीहरू आन्दोलनमा गएकाले नानीहरू उत्साहित छन्। तर म भने चुपचाप छु। ३:४५ बजे बहिनी लिन जानुपर्ने भएकाले दोधारमा छु। कोठामा सन्नाटा छाउँछ, म पुनः भान्सातिर लाग्छु। नानीहरू मेरो पछि-पछि लाग्छन्।
युवामा उत्सुकता हुनु स्वाभाविक हो भन्ने महसुस गर्छु। “आन्दोलनमा गएर आफ्नो अधिकार खोज्नु ठीकै हो, तर भिडको मनोविज्ञान बुझ्न जरुरी छ, जिद्दी नगर,” भन्छु। आन्दोलन कत्तिको अनुशासित होला भन्ने सोच्दै उनीहरूलाई सम्झाउँछु। युवाको आन्दोलनले अग्रजलाई मार्गदर्शन दिन सक्छ भन्ने विश्वास गर्छु।
“हाम्रो उमेरका युवाको आन्दोलन सफल हुन्छ,” भन्छु। उनीहरू फेरि जिद्दी गर्छन्, “छिटो खाना खाएर जाऊँ न।” नयाँ ठाउँमा मलाई अभिभावकको माया मिल्छ भन्छन्। म पनि उत्सुक छु, आफैँले पढाएका युवाको जमात देख्न। “बहिनी आउनु अघि फर्किन्छु, जाऊँ है!” भन्दै उनीहरू हात समाउँछन्। युवाको आन्दोलनको कल्पनाले म उत्साहित हुन्छु। अन्ततः बालाजुबाट रिङरोडकै गाडी चढेर नयाँ बानेश्वर पुग्छौँ। त्यहाँ युवाको महासागर नै देखिन्छ।
यति धेरै युवा देख्दा म चकित हुन्छु। त्यहाँको ऊर्जा निकै बलियो लाग्छ।
जताततै विद्यार्थीहरू प्लेकार्ड बोकेर आफ्नो माग राख्दै अघि बढिरहेका थिए। भ्रष्टाचारविरुद्ध उज्यालो दिनको सुरूवात थियो। म ११:३० बजेसम्म शान्तिपूर्ण आन्दोलनको साक्षी बनेर गर्व महसुस गर्छु। स्कुल पोसाकमै आएका युवाहरू ज्योति बाल्न सक्रिय थिए। असजिला खुसीलाई आफ्नो पोल्टोमा समेट्न खोजिरहेका थिए।
युवाहरूको सक्रियता देखेर म धन्यवाद दिँदै नयाँ ऊर्जा लिएर अभियानमा अघि बढ्छु। हजारौँ युवायुवतीको मुस्कानमा विजयी भाव देख्छु। उनीहरूको तेज, आशा र शुभकामनाले प्रेरित हुन्छु।
विद्यार्थीको देशप्रतिको माया देख्दा शिर गर्वले झुक्छ। अब घर फर्किने योजना बनाउँछु। बाटोमा भ्रष्टाचारविरुद्ध सुशासनको माग गर्दै युवाको सागर अघि बढिरहेको छ। भिड जमलतिर बढ्दै थियो। आजको दिन दौडधूपमै बित्यो। मनमा अलि डर पनि छ, किन होला?
निधारमा पसिना, ओठ सुकेको, शरीर थकित। नयाँ बानेश्वरका युवाजस्तै सोह्रखुट्टेमा पनि भिडको बेग्लै माहौल छ। बाटोभरि झुन्डमा मान्छे, युवाको आक्रोशका आवाज गुञ्जिएको छ। केही हुन सक्छ भन्ने आभास छ। केही बेर एक छेउमा उभिएर मनमनै सान्त्वना दिंदै अघि बढ्छु।
भीड छिचोल्दै घरतिर पाइला चाल्छु। भर्खरै फर्किएका नानीहरू साथमा छन्। मन एकाएक चिसिन्छ।
१० वर्षकी छोरी स्कुलबाट फर्केकी होलिन् कि भन्ने चिन्ता छ। सँगै हिँड्ने केटीहरू डरले आँसु झार्छन्। “दिदी, घर त सकुशल पुगिन्छ नि!” भन्छन् अन्जु डरले। नवीना त पोखराको बजारमा पनि यत्रो भिड देखेकी थिइन। उनीहरूको डर बुझेर म साहस दिन्छु।
त्यस दिन मेरो जस्तै हजारौँ आमाको अनुहारमा रङ मात्र होइन, साहस पनि हराएको थियो। केही सन्त्रस्त मानिस भिडमा जड भएर उभिएका थिए। भिड अचानक दिशाहीन भयो। माछापोखरीमा आइपुगेपछि घर पुगेको अनुभूति हुन्छ। बाटोमा कराउँदै, चिच्याउँदै हिँड्ने मान्छेहरू देख्दा कान ठाडो पारेर समाचार सुन्छु।
बानेश्वरको चोकमा आन्दोलन गर्न गएका विद्यार्थीले घाउ पाए भन्ने खबरले मन छट्पटायो। देशप्रतिको माया लिएर शान्तिपूर्ण प्रदर्शनमा निस्किएका विद्यार्थीलाई गोली लागेको सुन्दा मन अत्तालिन्छ। जताततै धुवाँ, मौन चित्कार, मन बिचलित छ।
झोलामा फोन बजिरहेछ तर डरले उठाउन सक्दिन। कतै छोरीलाई स्कुल बसले बाटोमै छोडेन होला भन्ने चिन्ता छ। शून्य भएर उभिएको छु। आमाले बाहिर ननिस्की भनेकी थिइन्, तर म सुटुक्क निस्किएँ। कसैलाई खबर गरेर निस्केको भए यति पीडा हुन्नथ्यो जस्तो लाग्छ। “मान्छे आफैँ दुःखका कारण हो,” बुद्धको भनाइ सम्झन्छु। भाइबरमा मेसेज आउँछ, अब भने साहस गर्दै खोल्छु।
स्कुलबाट छोरीको खबर रहेछ। “बाबु नानीलाई लिन बस बिसौनीमा उपस्थित हुनुहोस। अवस्था गम्भीर छ। संयमता अपनाउनुहोस। बस समयमै आइपुग्छ।” यो खबरले मुहारमा खुसी ल्याउँछ।
“जसरी मैले खुसी महसुस गरेँ, सबै आमाहरूले पनि आफ्ना सन्तानसँग आत्मीयता पाउँछन्,” सोच्दै छोरीको स्कुल बस स्टपतिर हतारिँदै पाइला चाल्छु।


