बारा
बारा जिल्लाको यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण प्रक्रियामा संगठित भ्रष्टाचार र खुला लुटतन्त्र सञ्चालन भइरहेको गम्भीर आरोप सार्वजनिक भएका छन्। सेवाग्राहीहरूको भनाइअनुसार लिखित तथा ट्रायल परीक्षामा स्पष्ट रूपमा फेल भएका उम्मेदवारलाई समेत आर्थिक लेनदेनको आधारमा पास गराइने, जबकि योग्य र नियमअनुसार परीक्षा दिएका उम्मेदवारलाई अनावश्यक रूपमा फेल गराइने गरिएको छ।
स्थानीय स्रोतका अनुसार कार्यालय प्रमुख चिन्तन आचार्यले जिम्मेवारी सम्हालेयता अनियमितता झनै मौलाएको गुनासो व्यापक रूपमा सुनिन थालेको छ। कर्मचारी, बिचौलिया र सक्रिय दलालहरूको मिलेमतोमा तोकिएको सरकारी शुल्कभन्दा कैयौँ गुणा बढी रकम असुली गरी फेल उम्मेदवारलाई जबर्जस्ती पास गराइने आरोप छ।

सेवाग्राहीहरूले आर्थिक पहुँच र ‘सेटिङ’ भएका उम्मेदवारको लिखित तथा ट्रायल परीक्षाको नतिजा हेरफेर हुने गरेको दाबी गरेका छन्। यसका कारण इमानदार र योग्य उम्मेदवारहरू निराश बन्दै गएका छन् भने यातायात प्रणालीप्रतिको जनविश्वास गम्भीर रूपमा क्षयीकरण हुँदै गएको छ।
एक पीडित सेवाग्राहीले भने, “परीक्षा राम्रोसँग दिएको थिएँ। पास गराइदिने भन्दै रकम मागियो, दिन नसकेपछि फेल गराइयो।” यस्ता गुनासाहरू दिनानुदिन बढ्दै जाँदा कार्यालयभित्र संस्थागत भ्रष्टाचार र संगठित लुटतन्त्र सञ्चालन भइरहेको आशंका बलियो बन्दै गएको छ।
स्थानीय तहमा फैलिएको चर्चाअनुसार, हालै बारा जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी आएपछि यातायात कार्यालयभित्रको चलखेललाई संरक्षण मिलेको आरोपसमेत उठ्न थालेको छ। यसअघि कडाइका साथ निगरानी सुरु हुँदा तत्कालीन कार्यालय प्रमुख अरबिन्द्र दासको सरुवा भएको उदाहरण स्मरण गरिँदै अहिले पुनः पुरानै लुटतन्त्र सक्रिय भएको गुनासो गरिएको छ।
सार्वजनिक यातायातजस्तो अत्यन्त संवेदनशील क्षेत्रमा अयोग्य व्यक्तिलाई लाइसेन्स वितरण गर्नु आम नागरिकको ज्यानसँग प्रत्यक्ष खेलवाड भएको सरोकारवालाहरूको भनाइ छ। उनीहरूले तत्काल उच्चस्तरीय, निष्पक्ष र स्वतन्त्र छानबिनको माग गरेका छन्।
विशेषगरी लिखित परीक्षामा पास भएकाहरूको नाम मात्र सार्वजनिक गर्ने प्रचलनले कति जना सहभागी भए र कति फेल भए भन्ने तथ्य लुकाइने गरेको आरोप छ। यही अपारदर्शी प्रक्रियाको आडमा नतिजा हेरफेर र सेटिङ भइरहेको भन्दै परीक्षाको निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको छ।
सरकार तथा सम्बन्धित निकायले समयमै कडा कदम नचाले ठूलो दुर्घटना, जनआक्रोश र सामाजिक अविश्वासको अवस्था सिर्जना हुन सक्ने विज्ञहरूको चेतावनी छ। अब पनि आँखा चिम्लिने हो भने बारा यातायात कार्यालय भ्रष्टाचारको खुला अखडा बनेर बस्ने निश्चित देखिएको छ।


