राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक सौराहामा शुक्रबारदेखि सुरु हुने भएको छ। पार्टीले बिहीबार चितवनमा पत्रकार सम्मेलन गर्दै बैठकका लागि सबै तयारी पूरा भएको जानकारी गराएको छ।
बैठकमा पार्टीको भावी रणनीति तय गरिनेछ। रास्वपा सचिवालय सदस्य हरी ढकालका अनुसार, देशभरका ५ सयभन्दा बढी प्रतिनिधिहरू बैठकमा सहभागी हुनेछन्।
कार्यसूचीअनुसार, कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् भने उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा प्रस्तुत गर्नेछन्।
ढकालले बैठकमा केन्द्र, प्रदेश तथा ७७ जिल्लाबाट प्रतिनिधिहरू सहभागी हुने बताए। उनले भने, ‘देशभरका साथीहरू बैठकका लागि आउँदै हुनुहुन्छ।’
बैठकमा प्रदेश सभापतिहरूले आफ्ना जिल्लाहरूको पार्टी संगठनको अवस्था सम्बन्धमा ब्रिफिङ दिने कार्यक्रम रहेको छ।


