काठमाडौंको भृकुटीमण्डपमा आइतबारदेखि सुरु भएको कांग्रेसको विशेष महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता प्रक्रियामा उत्साहजनक सहभागिता देखिएको छ।
कांग्रेसको पक्षधर समूहले आयोजना गरेको दुई दिने विशेष महाधिवेशनको पहिलो दिन आठवटा स्टलमार्फत प्रतिनिधिहरूको नाम दर्ता कार्य बिहान ९ बजेदेखि साढे १ बजेसम्म जारी रह्यो। विशेष महाधिवेशन जिल्ला क्षेत्र तथा ‘फोकल पर्सन’ समन्वय समितिका संयोजक युवराज पाण्डेयका अनुसार, शुरु भएको केही घण्टामै १३२७ प्रतिनिधिले नाम दर्ता गरिसकेका छन्।
कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि एक स्टल, विदेशस्थित जनसम्पर्क समिति तथा सम्बन्धित संस्थाहरूका लागि अर्को स्टल, उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका लागि अलग स्टल तथा बाँकी पाँच प्रदेशलाइ छुट्टाछुट्टै स्टल व्यवस्थापन गरिएको कांग्रेसले जनाएको छ। देशभरबाट महाधिवेशनका लागि ४७४३ प्रतिनिधि छनोट भएका छन्।
महाधिवेशन सुरु हुनु अघि विभिन्न छ स्थानबाट समूहगत जुलुस निकालिएको थियो भने उद्घाटन कार्यक्रम भृकुटीमण्डपमै सम्पन्न गरिएको छ। संयोजक पाण्डेयका अनुसार उद्घाटनलगत्तै सभाहलमा बन्दसत्र सुरु गरिएको छ।


