वीरगञ्ज
नेक्स्ट जेनेरेसन ईभेन्ट प्रा.लि.को आयोजनामा गायन रियालिटी शो “वीरगञ्ज आईडल” आयोजना हुने भएको छ। उक्त कार्यक्रम माई टेलिभिजनमार्फत प्रसारण गरिने आयोजकले जानकारी दिएको छ।
यसअघि वीरगञ्ज स्कुल आईडलका दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको अनुभवका आधारमा यसपटक खुला प्रतिस्पर्धाका रूपमा वीरगञ्ज आईडल आयोजना गर्न लागिएको हो। कार्यक्रमको उद्देश्य वीरगञ्ज तथा आसपासका क्षेत्रका लुकेका गायन प्रतिभालाई राष्ट्रिय स्तरसम्म पु¥याउने रहेको आयोजकको भनाइ छ।
वीरगञ्ज आईडलमा १५ वर्ष तथा सोभन्दा माथिका सबै उमेर समूहका इच्छुक प्रतिभाले सहभागिता जनाउन सक्नेछन्। प्रतियोगिता अडिसन, गाला राउण्ड र फाइनल चरणमार्फत सञ्चालन हुनेछ। अडिसनदेखि फाइनलसम्मका सबै कार्यक्रम वीरगञ्जको आदर्शनगरस्थित त्रिशला रेस्टुरेन्टमा आयोजना गरिनेछ। अडिसन कार्यक्रम आगामी फागुन २ गते तय गरिएको छ।
कार्यक्रमका संयोजक सद्धाम हुसैनले पत्रकार सम्मेलनमा वीरगञ्ज आईडलले स्थानीय गायन प्रतिभालाई प्लेटफर्म उपलब्ध गराई आत्मविश्वासका साथ अघि बढ्न प्रेरणा दिने उद्देश्य राखेको बताए।
निर्णायक हरिरत्न तुलाधरले प्रतियोगिताले यहाँका कलाकारलाई पहिचान र अवसर दिलाउने विश्वास व्यक्त गरे। अर्का निर्णायक प्रभात यादवले यस्ता कार्यक्रमले युवामा सिर्जनशीलता बढाउने र लुकेका प्रतिभा उजागर गर्न सहयोग पुग्ने बताए।
कार्यक्रमका प्रमुख अतिथि पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह परागले कला र प्रतिभालाई अवसर र प्रोत्साहन दिनु आवश्यक रहेको उल्लेख गरे। कलाकार र खेलाडी समाजका गहना भएको बताउँदै उनले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएमा सांस्कृतिक कार्यक्रम सञ्चालन तथा कलाकार जमघट गर्न सक्ने सार्वजनिक भवन वा सभा हल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।
वीरगञ्ज आईडलको निर्णायक मण्डलमा हरिरत्न तुलाधर, अशोक प्रधान, सद्धाम हुसैन र प्रभात यादव रहनेछन् भने कार्यक्रमको प्रस्तोताका रूपमा सञ्चारकर्मी सूर्य शुभचिन्तक रहनेछन्।
विजेतालाई नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने कभर म्युजिक भिडियोमा गाउने विशेष अवसर समेत उपलब्ध गराइने आयोजकले जनाएको छ। साथै अन्य आकर्षक उपहारहरूको व्यवस्था पनि गरिएको छ।
पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरूले कार्यक्रमको स्वरूप, निष्पक्षता र भविष्यका योजनाबारे जिज्ञासा राखेका थिए।
गायन क्षेत्रमा रुचि राख्ने सबै प्रतिभालाई सहभागिताका लागि आयोजकले आग्रह गरेको छ।


